काठमाडौँ । संघीय संसद्को एक कार्यकाल पूरा भएको छ । मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भएसँगै अब दोस्रो संघीय संसदको कार्यकाल सुरु हुँदै छ ।
मंसिर ४ गते भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अधिकांश स्थानमा भने मतपरिणाम आइसकेको छ ।
मतपरिणाम अन्तिम चरणमा पुगेसँगै आम नागरिकमा संघीय संसद्मा दर्ता भएका विधेयकहरू अब के होलान् रु भन्ने चासो छ । न्युज एजेन्सी नेपालसँग संघीय संसद सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले संघीय संसदमा दर्ता भएका विधेयकमध्ये केही निस्क्रिय भइसकेको र केही विचाराधीन अवस्थामा रहेको बताए ।
उनले प्रतिनिधिसभामा उत्पादित भएर प्रक्रियागतरूपमा रहेका र प्रतिनिधिसभामा विचाराधीन रहेका विधेयकहरू निस्क्रिय भइसकेको बताए । राष्ट्रियसभामा उत्पत्ति भएर राष्ट्रियसभामा नै विचाराधीन रहेका विधेयकहरू भने अधिवेशन सुरु भएपछि सोही अवस्थाबाट सुरु हुने बताए ।
राष्ट्रियसभामा उत्पत्ति भएर राष्ट्रियसभामा नै विचाराधीन रहेका विधेयक १२ वटा छन् । सहायक प्रवक्ता धमलाले राष्ट्रियसभामा उत्पत्ति भएर राष्ट्रिय सभामा नै विचाराधीन रहेका बाहेकका विधेयकहरू भने निस्क्रिय भइसकेको जानकारी दिए ।
उनले यदी सरकारले तिनै विधेयकहरू ल्याउन चाहेको खण्डमा भने फरक ढंगले ल्याउनु पर्ने र ति विधेयकको पुनः नयाँ प्रक्रिया (जिरोबाट) सुरु हुने बताए । सहायक प्रवक्ता धमलाले विधेयकहरू राष्ट्रियसभाबाट आए राष्ट्रिय सभाबाट नै अघि बढ्ने र प्रतिनिधिसभाबाट आए प्रतिनिधिसभाबाटै अघि बढ्ने प्रावधान रहेको बताए ।