विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट बहुमतका साथ विश्वासको मत प्राप्त गरेका छन्। सोमबार प्रदेश सभामा भएको मत विभाजन (मतदान) मा मुख्यमन्त्री कार्कीले पेस गरेको विश्वासको मतको प्रस्तावको पक्षमा ५७ मत परेको हो।
सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका प्रदेश सभा सदस्यहरूले मुख्यमन्त्री कार्कीको पक्षमा मतदान गरेका थिए। ९२ सदस्यीय कोशी प्रदेश सभामा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ जना गरी कुल ५७ जना प्रदेश सभा सदस्य रहेका छन्। दुवै सत्ता साझेदार दलका सबै सदस्यहरूले एकढिक्का भएर प्रस्तावको पक्षमा मतदान गरेका हुन्।
अर्कोतर्फ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरूले भने विश्वासको मतको विपक्षमा मतदान गरेका छन्। प्रदेश सभामा कांग्रेसका २९ जना सांसद रहेकोमा २२ जनाले मतदानमा सहभागी भई प्रस्तावको विपक्षमा मत दिएका हुन्। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सभामुखसहित ५ जना सदस्यहरू मतदान प्रक्रियामा तटस्थ रहेका थिए भने जनता समाजवादी पार्टी (जसपा) की एक्ली सांसद निर्मला लिम्बू बैठकमा अनुपस्थित रहेकी थिइन्। कुल ९३ सदस्यीय प्रदेश सभामा एक जना सदस्यको राजीनामा पछि ९२ कायम रहेकोमा सोमबारको बैठकमा ८३ जना सांसद उपस्थित थिए।