धनुषा । जनकपुरधाममा जारी सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत सोमबार दिउँसो मर्यादा पुरुषोत्तम भगवान राम र जगतजननी सीताबीचको स्वयम्वर कार्यक्रम सम्पन्न भएको छ ।
जनकपुरधामको बाह्रबिघा रंगभूमि मैदानमा आयोजना गरिएको स्वयम्वर कार्यक्रम हेर्न लाखौको संख्यामा स्रदालु भक्तजनको सहभागिता रहेको थियो । जनकपुरधामको राम मन्दिरबाट निस्केको भगवान रामको डोला र जानकी मन्दिरबाट निस्केको जगतजननी सीताको डोला रंगभूमि मैदानमा पुगेपछि स्वयम्वर कार्यक्रम गरिएको थियो ।
भगवान रामको डोलालाई माता सीताको डोलाले तीन पटक परिक्रमा गरेपछि मालाफेरको कार्यक्रम गरिएको थियो । दुवै मन्दिरका पुजारीले स्वयम्वरका विधिअनुसार मालाफेर गराइसके पश्चात् सो स्थानमा स्थानीय मैथलानी महिलाले विभिन्न खालका मंगलगितहरु प्रस्तुत गरेका थिए ।
त्रेता युगमा भगवान राम र सीतावीच स्वयम्वर कार्यक्रम हुँदा छपन्न करोड देवी देवताको उपस्थिति रहेको थियो । स्वयम्वर कार्यक्रममा सहभागि भएको खण्डमा विभिन्नखालको संकटबाट मुक्ती पाउने जनविश्वासको अधारमा आज पनि स्वयम्वरको कार्यक्रममा लाखौको सहभागिता रहेको थियो ।
स्वयम्वर कार्यक्रम सकिएपश्चात दुवै डोलालाई नगर परिक्रमा गराई पुनः मन्दिरमा स्थापित गरिएको छ । डोलासँगै भारतको अयोध्याबाट आएका साधुसन्त र स्थानीय श्रद्धालुको सहभागिता रहेको थियो । स्वयम्वर कार्यक्रमको क्रममा स्थानीय विभिन्न संघ सस्थाले राम– सीताको प्रतिकात्मक झाँकी प्रदर्शन गरेका थिए ।
स्वयम्वर कार्यक्रम सकिएको र राति ७ वजे पश्चात् जानकी मन्दिरको प्राङ्गणमा बैवाहिक कार्यक्रम हुने जानकी मन्दिरका उत्तराधिकारी महन्थराम रोशन दासले जानकारी दिनुभयो । विवाह पञ्चमीको अवसरमा जनकपुरधामको राम–जानकी मन्दिरमा पूजाआजा गर्न आज विहानैदेखि श्रद्धालुहरुको घुइचो लागेको छ ।
स्थानीय प्रशासनले विवाह पञ्चमीलाई मध्यनजर गरी जनकपुरधामको सुरक्षा व्यवस्था कडा पारिएको छ । नगरक्षेत्रमा एक हजारभन्दा बढी प्रहरी परिचालन भएको र सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको धनुषाका प्रहरी प्रमुख बसन्त रजौरेले जानकारी दिए । भारतीय तीर्थालुको मध्यनजर गरी नेपाल रेल्वेको सेवा बढोत्तरी गरी तीन पटक सञ्चालन गरिएको छ ।