काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल रौतहट–१ बाट चुनाव जितेर काठमाडौं फर्किएपछि आइतवार पहिलोपटक पार्टी कार्यालय पुगेका थिए । पार्टी कार्यालयमा उनको कार्यकक्षमा कार्यकर्ताहरूले खादा लगाएर चुनाव जितेकोमा बधाई दिए।
कार्यकर्तासँगको भेटघाटका नेपालले अनौपचारिकरूपमा आफ्ना कुरा राखेका थिए ।त्यसक्रममा उनले रौतहटबाट चुनाव लड्ने भनेर गरेको निर्णय सही भएको बताएका थिए ।
‘रौतहट नगएको भए मलाई नै उछिट्याइदिने रहेछन्’, नेपालले भने ।
उनले आफ्नो मात्रै चिन्ता व्यक्त गरेनन् । माओवादी केन्द्रका अध्यक्ष पनि चितवन छाडेर गोरखा जानु सही भएको निष्कर्ष सुनाए । ‘प्रचण्डलाई पनि अप्ठ्यारो पार्ने रहेछन् । गोरखा गएर राम्रो भयो’, नेपालले भने ।
यसअघि काठमाडौं–२ बाट चुनाव लड्दै आएका नेपालले मंसिर ४ मा भएको चुनावमा रौतहट–१ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिएका थिए । त्यहाँ उनले नेकपा एमालेको अजयकुमार गुप्तालाई ६ हजार ६ सय मतान्तरले पराजित गरेका थिए ।
यसअघि नेपालले चुनाव जितेको काठमाडौं–२ मा भने राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले चुनाव जितेकी छन् । सत्तारूढ गठबन्धनकी उम्मेदवार एवं पूर्वसभामुख ओनसरी घर्ती चौथों स्थानमा सीमित भइन् ।उता प्रचण्डले छाडेको चितवन–३ मा पनि राप्रपाका विक्रम पाण्डेले चुनाव जिते । माओवादी केन्द्रका उम्मेदवार भोजराज अधिकारी पराजित भए ।