काठमाडौँ, १० फागुन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एकता कार्यदल भंग गरेको छ। नेकपाको सचिवालयले सांगठनिक एकताको प्रस्ताव तयार पारेर स्थायी कमिटीमा पेश गर्ने भन्दै एकता कार्यदल भंग गरेको हाे।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले कार्यदलको म्याद थप नगर्ने निर्णय गरेको हाे। बिहीबार सचिवालय बेठकमा संयोजक रामबहादुर थापा बादलले पेश गरेको कार्यदलको प्रतिवेदनमा एक साता समय माग गरिएको थियो।
बैठकमा बोल्ने कार्यदलका बहुमत सदस्यहरुले पनि म्याद थप्नुपर्ने धारणा राखेका थिए। तर, प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले कार्यदल विघटन गर्ने प्रस्ताव गरेका थिए।
शुक्रबारको सचिवालय बैठकले ओलीकै प्रस्तावअनुसार निर्णय गरेको छ। गत ३ मा पार्टी एकता भए पनि नेकपामा तल्लो तहसम्मको पार्टी एकता, जनसंगठनको एकीकरण, नेताहरूको कार्यविभाजन, पोलिटब्युरो गठन गर्न सकेको छैन। एकता प्रस्ताव तयार पार्न स्थायी समितिको पुसमा बसेको बैठकले कार्यदल बनाएको थियो।
गृहमन्त्री रामबहादुर थापा संयोजकत्वको कार्यदलमा महासचिव विष्णु पौडेल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, वर्षमान पुन, रघुवीर महासेठ, योगेश भट्टराई, वेदुराम भुसाल र लेखराज भट्ट सदस्य थिए।