काठमाडौं, ९ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले काजी कालु पाण्डेको समाधिस्थल नेपालीको लागि तीर्थस्थल भएको बताएका छन्।
काजी कालु पाण्डेको समाधिस्थल दहचोकमा बिहीबार आयोजित तेस्रो इन्द्रदह पर्यटन महोत्सवको उद्घाटन गर्दै ओलीले सो कुरा बताएका हुन्।
प्रधामन्त्री ओलीले पाण्डेको पूर्णकदको शालिक अनावरण गरेका छन्। हरेक वर्ष आजका दिन प्रधानमन्त्री ओलीले यस ठाउँमा गएर कालु पाण्डेप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्। चन्द्रागिरि नगरपालिका–१ मा रहेको यस ठाउँमा ओलीले गतवर्ष पाँचतले भ्यू टावर शिलान्यास गरे। टावरको दुई तल निर्माण भइसकेको छ।
यसैगरी, प्रधानमन्त्री ओली गत वर्ष नै कंलकी–दहचोक सडकको स्तरोन्नती हुने घोषणा गरेकाेमा यस वर्ष काम धमाधम भइरहेको छ। मनकामना मन्दिरको पुनर्निर्माण भइसकेको छ। इन्द्रदहको पुनर्निर्माणको काम भइरहेको छ।
प्रधानमन्त्री ओलीले दहचोकलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताएका छन्। नेपाल एकीकरणका एकजना सारथी पाण्डेले ४४ वर्षको उमेरमा नेपाल एकीकरणका लागि जीवन आहुती दिएर असाधारण योगदान गरेको प्रधानमन्त्री ओलीले बताए।
‘हाम्रा पूर्खाहरुले ज्यान दिएर देश बचाए हामीले ज्यान दिनु पर्दैन अडानमा बसे मात्र पुग्छ,’ ओलीले भने, ‘राष्ट्रको पहिचानको निम्ति, राष्ट्रको रक्षाका निम्ति त्यो एकीकरण भएको थियो। यसलाई जोगाउन हामीमा एकता चाहिन्छ।’