काठमाडौं। ‘आसियान बिजनेस समिट एण्ड अवार्ड्स २०२२’ आयोजना हुने भएको छ।
एशियामा आधारित उद्यमीहरूको नेटवर्क प्रोनेस एसियाको आयोजनामा ‘आसियान बिजनेस समिट एण्ड अवार्ड्स २०२२’ काठमाडौंको हयात रिजेन्सीमा जुन ११ शनिबार आयोजना हुने भएको छ।
नेपालमै आधारित सिग्मा सफ्ट इन्टरनेशनल व्यवस्थापक रहने आसियान बिजनेस समिट एण्ड अवार्ड्समा विभिन्न ९ देशका उद्यमी र उद्योगी नेताहरू सहभागी हुनेछन्।
नेकपा (एमाले)का महासचिव शंकर पोखरेल प्रमुख अतिथि रहने कार्यक्रममा मलेसियाका सांसद फुजियाह बिन्ती सालेह, व्यापार उद्यमी तथा मलेसिया भियतनाम व्यापार चेम्बरका पूर्व अध्यक्ष दत्तुक डा. एम.शिमी, मलेसियाका पूर्व उप विदेश मन्त्रीका प्रेस सचिव, प्रोनेस एसियाका संस्थापक मणिमारन सुपियाह र गिनिज वल्र्ड रेकर्ड होल्डर र प्रख्यात मेमोरी ट्रेनर डा. विनोद शर्मा वक्ताका रुपमा रहेका छन्।
उनीहरुले अन्तर्राष्ट्रिय व्यापार, पर्यटन, कला, संस्कृति, महिला सशक्तिकरण र नवीन शिक्षाका विषयमा आफ्ना भनाइ राख्नेछन्। साथै, कक्षाकोठा, यौन शिक्षा निषेध, करियर काउन्सिलिङ वरिपरि घुम्ने महत्त्वपूर्ण मुद्दालगायतका विषयमा पनि छलफल र अनुसन्धान हुनेछ।
साथै, कार्यक्रममा आसियान एक्चेन्ज अवार्डमार्फत विभिन्न कम्पनी र व्यक्तिले गरेको योगदानको कदर गर्दै शिक्षा, पर्यटन, कृषि, रोजगारी, वातावरण, समाज कल्याण, सम्पदा र संस्कृति, इनोभेसन र स्टार्टअप र महिला सशक्तिकरण विधामा अवार्ड प्रदान गरिने जनाइएको छ।
अवार्ड समारोहमा प्रभावशाली परिवर्तन निर्माता र उद्यमीहरूलाई पनि सम्मान गरिने आयोजक संस्थाका कार्यकारी निर्देशक लक्ष्मण बस्नेतले जानकारी दिएका छन्।
कार्यक्रममा यस वर्ष अन्तर्राष्ट्रिय समाचार च्यानल भ्वाइस एशिया समाचार, उद्यम नेपालमा आधारित शैक्षिक संस्था सार्क (एसएआरसी) फाउन्डेशन, अग्रणी स्वतन्त्र अन्तर्राष्ट्रिय संस्था, हाल भारत, मलेसिया र नेपालमा काम गरिरहेको रे फाउन्डेसनले एशियामा आधारित उद्यमीहरूको नेटवर्क प्रोनेस एसियासँग सहकार्य गर्नेछन्।