काठमाडौं, ९ फागुन – नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन गर्दा विधानमै व्यवस्था भएअनुरुप ३२ वर्षभन्दा मुनिका नेताहरु मात्रै समेट्न माग गर्दै विद्यार्थीहरुले नेपाली कांग्रेसका शीर्ष नेताहरुलाई दवाव दिएका छन्।
कृष्ण सिटौलाको नेतृत्वमा रहेको तेस्रोधार समूहका विद्यार्थी नेताहरुले ३२ वर्षभन्दा बढी उमेरका नेताहरुलाई तदर्थ समितिमा नराख्न पार्टी नेतृत्वलाई दवाव दिएका हुन्।
कुन्दनराज काफ्लेले नेतृत्व गरेको कांग्रेसनिकट विद्यार्थीहरुले विधानमा व्यवस्था भएअनुरुप ३२ वर्षभन्दा तलका विद्यार्थी नेताहरुलाई तदर्थ समितिमा ल्याउन माग गरेका छन्।
नेवि संघका निवर्तमान महामन्त्री काफ्लेले विधानमा व्यवस्था गरिएअनुरुप नेतृत्व निर्माण नगरे संगठन अझै कमजोर हुने र अस्तव्यस्त हुने भएकाले आफूहरु यस्तो पहल सुरु गरेको बताए।
विद्यार्थी नेताहरुले बुधबार सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता अर्जुनरसिंह केसीलाई भेटेर नेवि संघको तदर्थ समितिमा ३२ वर्षभन्दा माथिका कसैलाई पनि नल्याउन सचेत गराएका हुन्।
नेवि संघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टका अनुसार प्रमुख कलेज र विश्वविद्यालयबाट मात्रै प्रतिनिधि हुने व्यवस्थालाई पनि परिमार्जन गर्न विद्यार्थीले नेताहरुलाई आग्रह गरेका छन्।