काठमाडौं, ८ माघ – नेपाली कांग्रेसले अष्ट्रेलियामा एक हजारभन्दा बढी विद्यार्थी विचल्लीमा परेको घटनाका बारेमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ। साथै दर्ता नभएको क्याम्पसमा विद्यार्थी पठाउने कन्सल्टेन्सीहरुबारे आवश्यक विवरण संकलन गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ।
अष्ट्रेलियामा अध्ययन गर्न गएका एक हजारभन्दा बढी नेपाली विद्यार्थी विचल्लीमा परेको घटनाका विषयमा ध्यानाकर्षण भएको बताउँदै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा सरकारले ती विद्यार्थीहरुको उद्धार र उचित शैक्षिक प्रबन्धका लागि तत्काल अष्ट्रेलिया सरकारसँग आवश्यक पहलको माग गरिएको छ।
सरकारले पीडित विद्यार्थीहरु एवं अभिभावकको भावना अनुरुपको व्यवस्थापनमा तत्कालै अग्रसरता देखाउन सरकारलार्इ कांग्रेसको सुझाव छ।
प्रवक्ता शर्माले विज्ञप्तिमा भनेका छन्, ‘हजारौँ नेपाली विद्यार्थीले अष्ट्रेलियाबाट निरन्तर उच्च शिक्षा हासिल गरिरहेका छन्, र त्यसप्रति हामी अनुग्रहित पनि छौँ, तर स्थानीय एक शैक्षिक प्रतिष्ठानले विधिवत दर्ता र सम्बन्धन बेगर विद्यार्थी भर्ना लिएर हजारौँको भविष्य अन्यौलमा पुर्याएको र नर्सिङ अध्ययन गर्न गएका हाम्रा नेपाली विद्यार्थी समेतले मार्मिक चोट भोग्नु परेको सार्वजनिक विवरणले अभिभावकसँगै हामीलाई पनि मर्माहत तुल्याएको छ।’
नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समितिलाई तत्काल यसबारे थप सूचना लिन र आवश्यक समवन्य गर्न कांग्रेस केन्द्रीय कार्यालयका तर्फबाट निर्देशन गरिसकिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।