काठमाडौँ, ८ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले हिँसात्मक क्रियाकलाप सरकारको लागि स्वीकार्य नभएको बताएका छन् । बुधबार सुदूरपश्चिम प्रदेश सभा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ माओवादीप्रति लक्षित गर्दै हिँसात्मक गतिविधि सरकारको लागि स्वीकार्य नभएको स्पष्ट पारेका हुन्।
उनले भने,‘क्रान्तिका नाममा आडम्बरपूर्ण र लफ्फाजीको काम छैन। क्रान्तिका नाममा हिँसात्मक कार्य भएका छन्। राजनीतिक आवरणमा चन्दा आतंक मच्चाउने काम भइरहेका छन्। राजनीतिक आवरणमै लुटपाट र देशलाई डुबाउँने खालका कामहरु हुँदैछन्। यस्ता विकासका बाधक र हिँसात्मक क्रियाकलापहरु सरकारले हेरेर बस्दैन।’
प्रधानमन्त्री ओलीले अघि थपे,‘अकारण जनतालाई आतंकित पार्ने र अन्तराष्ट्रिय दुनियाँमा नेपालको बद्नाम गर्ने कार्यहरु भइरहेका छन्। अरुण तेस्रो माथि तोडफोड गर्ने, बम पड्काउने काम भइरहेका छन्। यो जम्मै हुनुको कारण नेपाल-भारतसँगको सम्बन्ध बिगार्न र अन्तर्राष्ट्रिय लगानी नभित्रियोस् भन्ने गलत सोचाइले भएका छन्।’
साथै उनले २००७ सालमा भारतमा भागेका राजालाई डोकोमा बोकेर ल्याएर देश र जनताले दुःख पाउनु परेको बताए। उनले भने,‘केही शक्ति प्रतिगमनको बाटो बनाउँदैछन्। नेपाली जनता त्यति मुर्ख छैनन्। हिजो २००७ सालमा भारतमा भागेर गएका राजालाई डोकोमा बोकेर ल्याएर दुःख भोग्नु पर्यो। फेरी त्यहि प्रतिगमन चाहँदैनन्।’
सामाजिक सञ्जालमा कडाइको संकेत
प्रधानमन्त्री ओलीले लोकतन्त्रका नाममा कसैलाई गाली गर्न छुट नभएको बताएका छन्। सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधान गर्ने क्रममा उनले भने,‘लोकतन्त्रको आवरणमा कसैलाई गालि गर्न वा नियोजित रुपमा बदनाम गर्नेकाम गर्न पाइँदैन।’
नेपालमा हामीले अभ्यास गरिरहेको लोकतन्त्र कसैसँग मागेर नल्याइएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘लोकतन्त्रलाई आफूले चाहेको, आफूले भनेको जस्ता र आफू अनुकूल परिभाषित गर्न मिल्दैन। लोकतन्त्रमा सबैले बाँच्न पाउने अधिकार सुरक्षित हुन्छ। सम्पूर्ण अधिकार र सामाजिक न्यायसहितको आर्थिक समृद्धि, समानतासहतिको लोकतन्त्र विकास आजको आवश्यकता हो, हामी त्यहि दिशातर्फ अघि बड्दैछौैं।’
प्रधानमन्त्री ओलीले समाजवाद उन्मुख संविधान भएको मुलुकमा सरकार अधिनाकवादी बन्दैछ भन्ने प्रतिपक्षको आरोपको खण्डन गर्दै उनले भने,‘ यसको कुनै तुक छैन । केही मानिसहरु कम्युनिष्ट पार्टी अधिनायकवादी बन्दैछ भनेर हल्ला गर्दैछन्, यो तर्कको पनि कुनै तुक छैन।’
उनले अगाडी भने,‘नेपाली कम्युनिष्ट आन्दोलन भनेको जनताको लोकतन्त्र हो। हामी तानाशाह शब्द सुन्न पनि चाहन्नौं। सामाजिक विभेद सुन्न सक्दैनौं। समतामुलक समाज निमार्ण, महिला अधिकार दिलाउन र विभेदपूर्ण व्यवहारको अन्त्य गर्न हामी जुनसुकै मुल्य चुकाउन तयार छौं। दुनियाँका धेरै देश हामीभन्दा पछाडी छन्। विश्वका १९३ देशमध्ये महिला समानताका निम्ति एक दर्जन देशहरु मात्र हाम्रो प्रतिष्पर्धामा छन्।’
उनले भने,‘अहिले बहुमतको कुरा छोडौं, काम गरिएन भने यो बहुमतको कुनै अर्थ हुँदैन।’ अहिले द्वन्द्वका घाउहरु कोट्याएर शान्ति प्रक्रियालाई विथोल्ने काम कतैबाट हुनुहुँदैन। त्यसका निम्ति आयोगहरु बनेका छन्। तीनले काम पूरा गरेका छैनन्, धेरै काम बाँकि छन्, त्यसैले अगोगको समय थपेका छौं, केही समय कुर्नु पर्ला।’
जनताले बनाएको संविधानलाई सुरक्षित गर्ने र कार्यन्वयन गर्ने जिम्मेवारी सरकारको भएको भन्दै प्रधानमन्त्री ओलीले त्यसका लागि १६ वटा कानून बनाइसकेको स्पष्ट पारेका छन्।