काठमाडौँ, ८ फागुन – कांग्रेसमा प्रवेश गर्ने भएपछि नयाँ शक्ति पार्टी रसुवाले प्रदेश ३ का सांसद प्रेम तामाङलाई कारबाहीको सिफारिस गरेको छ । मंगलबार बसेको नयाँ शक्ति जिल्ला समितिको बैठकले कारबाहीका लागि सिफारिस गरेको हो । सांसद तामाङलाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गरेको जिल्ला संयोजक दावा तामाङले बताए ।
कांग्रेससँग एकता गर्ने भन्ने गलत र भ्रामक हल्ला फैलाएको र कांग्रेसमा प्रवेश गर्ने भएपछि पार्टीका कुनै पनि जिम्मेवारीमा नहरने गरी कारबाहीका लागि केन्द्रमा सिफारिस गरेका छौँ,’ संयोजक तामाङले भने।
नयाँ शक्तिका रसुवा पूर्वसंयोजकसमेत रहेका नेपाली प्रदेश सभा निर्वाचनमा रसुवा ‘ख’बाट निर्वाचित भएका थिए । नयाँ शक्तिसँग भएको गठबन्धनमा रसुवा ‘क’बाट कांग्रेसकै प्रभात लामा विजयी भएका थिए । त्यस्तै, प्रतिनिधिसभामा निर्वाचत कांग्रेसका मोहन आचार्यलाई पनि नयाँ शक्तिले सघाएको थियो ।
नयाँ शक्तिका प्रदेश सांसद तामाङ १३ फागुनमा हुने कार्यक्रममा कांग्रेस प्रवेश गर्न लागेका छन् । उनलाई सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको कांग्रेस रसुवाका सभापति पेम्बा छिरिङ तामाङले बताए ।
उनीसँगै आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ पनि नयाँ शक्तिबाट कांग्रेसमा प्रवेश गर्न लागेका हुन् । यो समाचार नयाँ पत्रिकामा छ।