काभ्रेपलाञ्चोक, ७ फागुन – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान दुई तिहाईको सरकारले संवैधानिक सर्वोच्चताको कुरा बिर्सेर संसदीय सर्वोच्चताको मात्रै व्याख्या गरिरहेको बताएका छन्।
उनले शक्ति सन्तुलन प्रधानमन्त्रीले एकलौटी रुपमा आफ्नो हातमा लिएको उल्लेख गर्दै कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलनलाई एक पक्षिय रुपमा प्रयोग गरिरहेको आरोप लगाए।
गिरिजाप्रसाद कोइराला प्रतिष्ठान काभ्रेपलाञ्चोक शाखाले धुलिखेलमा ६९औँ प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘नेपालमा लोकतन्त्र, शान्ति र विकासका लागि लोक नायक गिरिजाप्रसाद कोइरालको योगदान’ विषयक विचार गोष्ठीमा बोल्दै नेता कोईरालाले नेपाली कांगे्रसभित्र गुट उपगुट क्रियाशिल रहेको बताए।
उनले भने, ‘कुनै पनि पार्टीमा गुट हुनु राम्रो कुरा हो, त्यसले सही काम गर्न उत्प्रेरणा दिन्छ, तर राजनीतिमा सही संस्कार र नैतिकलाई जोगाएर राख्न सक्नुपर्छ।’
नेता कोइरालाले सो अवसरमा गिरिजाप्रसाद कोइराला प्रतिष्ठानको काभ्रेपलाञ्चोक शाखा कार्यालयको उद्घाटन गरेका थिए। शंखबुद्ध लामाको संयोजकत्वमा २७ सदस्यीय काभ्रे जिल्ला समिति गठन भएको प्रतिष्ठानले जनाएको छ। उक्त कार्यक्रममा गिरिजासाद कोइरालको विभिन्न कालखण्डका तस्बीरहरुको प्रदर्शन गरिएको थियो।