काठमाडौं, ७ फागुन – विवेकशील साझा पार्टीले संगठन विस्तार तीव्र पारेको छ। अरु राजनीतिक दलका नेता–कार्यकर्ता तान्नुभन्दा सामाजिक क्षेत्रका अगुवा, युवा उद्यमी, महिला, आदिबासी जनजाति, तराई मधेश तथा अन्य विभिन्न क्षेत्रलाई विवेकशील साझाले आफ्नो संगठनमा जोडिरहेको छ।
गत पुस २७ गते एक संयोजक उज्वल थापाले पार्टीबाट अलग्गिएर विवेकशील नेपाली दललाई ब्यूँत्याएपछि विवेकशील साझा पार्टीले संगठन सुदृढीकरणमा आक्रामक अभियान सञ्चालन गरेको हो।
‘विवेकशील साझा पार्टीको संगठनलाई तीव्र रुपमा विस्तार गर्ने योजना पहिल्यैदेखि थियो, तर पार्टीको सक्रियता र संगठन कत्रो र कस्तो बनाउने भन्ने विषयमा पार्टीभित्र फरक दृष्टिकोणहरु थिए,’ विवेकशील साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्य भन्छन्, ‘तर, एउटा समूह पार्टीबाट अलग भएपछि नीति, कार्यक्रममा स्पष्टता आएको छ, योजनागत स्पष्टता पनि आएको छ, वडादेखि गाउँ, सहरसम्म संगठन विस्तार तीव्र पारिएको छ।’
पार्टी प्रवेशको लहर
चर्चित युवा ज्योतिषी हरिहर अधिकारी विवेकशील साझामा प्रवेश गरेका छन्। कलकत्ताबाट ‘शास्त्री’ उपाधी प्राप्त चर्चित युवा ज्योतिषी अधिकारी गतसाता मात्रै विवेकशील साझा पार्टी प्रवेश गरेका हुन्।
त्यसैगरी, प्रतिष्ठित उत्प्रेरक, नेतृत्व विकास प्रशिक्षक, सन् १९९० का नेपाल जेसीसका राष्ट्रिय अध्यक्ष तथा नेशनल इन्स्टिच्यूट फर लिडरशीप डेभेलोपमेन्टका निर्देशक विकल शेरचन पनि विवेकशील साझा पार्टीमा प्रवेश गरेका छन्।
बुटवलका प्रतिष्ठित नेत्र रोग विशेषज्ञ डा. अमित केसी र समाजसेवी कृष्ण न्यौपानेले पनि हालै विवेकशील साझाको सदस्यता दिएका छन्।
काभ्रेपलाञ्चोकमा ‘स्कूल पुस्तकालय अभियान’ चलाएर जिल्लाका लगभग २५० वटा स्कूलमा पुस्तकालय स्थापना गरेका विकु लामा पनि विवेकशील साझा पार्टीको सदस्य भएका छन्।
त्यसैगरी, संगठन विस्तारकै क्रममा विवेकशील साझा पार्टीले अन्तर्राष्ट्रिय सद्भाव समूहका संयोजकमा डा. राजेन्द्र पंगेनीलाई चयन गरेको छ। विवेकशील साझाले सञ्चार विभाग गठन गरी त्यसको सम्पादकको जिम्मेवारी शरदराज पाठकलाई दिएको छ।
विवेकशील साझा पार्टीले प्रदेश–२ को संयोजक चयन गर्ने तयारी भइरहेको जानकारी दिएको छ। ‘पार्टी प्रवेशको लहर देशैभरि चलेको छ, यद्यपि, यकिन आँकडा आइसकेको छैन,’ प्रवक्ता आचार्यले भने, ‘विवेकशील साझा पार्टीमा सबैजसो क्षेत्रबाट जोडिने क्रम निरन्तर जारी छ।’
‘अरु पार्टीका नेता भित्र्याउन जोड गर्दैनौं’
विवेकशील साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा विभिन्न क्षेत्रका नागरिकलाई समेट्ने पहल भइरहेको जानकारी दिए। सो क्रममा पार्टीको संवाद समितिले विभिन्न राजनीतिक दलका नेताहरुसँग छलफल चलिरहेको उनले बताए।
‘पहिलेदेखि नेतृत्व तहमा बसेका, केन्द्रीय तहमा रहेका धेरै पुराना पार्टीका नेताहरुले विवेकशील साझा पार्टीमा प्रवेश गर्ने मनसाय व्यक्त गर्नु भएको छ, हाम्रो अभियानप्रति शुभेच्छा व्यक्त गर्नु भएको छ,’ आचार्यले भने, ‘तर, पुरानो शैलीले विवेकशील साझा पार्टी चल्न सक्दैन, पुराना नेताहरुलाई हाम्रो पार्टीमा जोड्ने विषयप्रति हामी विशेष सचेत छौं, हाम्रो पार्टीको अनुहार जनतामाझ कस्तो देखाउने भन्ने विषय महत्वपूर्ण छ, त्यसैले पुरानो पार्टीका नेताहरुको शुभेच्छालाई स्वागत गर्दै नवीन सोच बोकेका युवा र विभिन्न क्षेत्रका अगुवालाई पार्टीमा जोड्छौं।’
‘नयाँ शक्ति पार्टीसँग एकता हुन सक्दैन’
विवेकशील साझा पार्टीका एक संयोजक उज्वल थापाले विवेकशील नेपाली दल गठन गरेको सवालमा विभिन्न प्रश्नहरु उठेका थिए। चियागफहरुमा विवेकशील साझा र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकता हुने विषयमा असन्तुष्टि जनाउँदै उज्वल थापा छुट्टिएको चर्चा चल्यो। वास्तविकता के हो त?
[caption id="attachment_16966" align="alignnone" width="830"]
डा. सूर्यराज आचार्य।[/caption]
‘विवेकशील साझा पार्टी र नयाँ शक्ति पार्टीबीच एकताको विषय २ सय प्रतिशत गलत हो, अफवाह मात्रै हो,’ प्रवक्ता आचार्य भन्छन्, ‘केही नेताहरु व्यक्तिगत रुपमा पार्टी प्रवेश गर्नु भएको छ, तर नयाँ शक्ति पार्टीको अहिलेको कार्यशैली र नीतिका कारण पनि एकता धेरै परको कुरा हो भनेर प्रष्ट पार्न चाहन्छु।’
मतदाताको सोच कसरी बदल्ने?
विवेकशील साझा पार्टीले नेपाली जनताको अपेक्षा अनुसारको सुसँस्कृत राजनीति गर्ने बताउँदै आएको छ। पार्टीको संगठनको आकार बढ्दै जाँदा जनमत बढ्न पनि त्यतिकै आवश्यक हुन्छ। जनमत बढ्नुको प्रत्यक्ष फाइदा निर्वाचनमा हुन्छ। सहरी क्षेत्रकाभन्दा ग्रामीण क्षेत्रका मतदातालाई आफ्ना एजेण्डा बुझाउन कठिन हुन्छ भन्ने विवेकशील साझाले प्रष्ट बुझेको छ।
‘आम नागरिकको सोच परिवर्तन गर्न वस्तुगत रुपमा दुई वटा कुराहरु छन्, समाजशास्त्रले भन्छ –भौतिक अवस्थाले व्यक्तिलाई प्रभाव पार्छ, २०४६ सालको परिवर्तनपछि अहिलेका ठूला पार्टी ‘टेस्टेड’ भइसकेका छन्, अनौपचारिक कुराकानीमा ती पार्टीका नेताहरुले नै पुराना पार्टी ‘टेस्टेड’ भइसकेका छन्, अब तपाईहरु नै केही गर्नु होस् भन्नुहुन्छ,’ प्रवक्ता आचार्य भन्छन्, ‘पुरानो बाटोबाट नयाँ बाटोमा आउन समय लाग्छ, तर नयाँ बाटो सही छ भन्ने बोध भएमा आमनागरिकमा पुराना पार्टीप्रति मोहभंग हुँदैजान्छ, र यिनीहरुको पछि लागेर अब हुँदैन भन्ने सचेतता आउछ, नागरिकले नै पुराना पार्टीलाई विस्थापित गर्नेछन्।’
जनतामा आशा जागेको छ, अब विश्वास निर्माण गर्ने चुनौती
गएको निर्वाचनमा विवेकशील साझा पार्टीले राम्रै मत बटुलेको थियो। प्रदेश नम्बर–३ मा तेस्रो पार्टीको रुपमा उदाएको विवेकशील साझाले आगामी निर्वाचनको तयारीकै झल्को दिने गरी संगठन विस्तार गरिरहेको छ।
‘राष्ट्रिय राजनीतिमा अहिले हामी तेस्रो पार्टी हौं, नयाँ शक्ति, राप्रपा लगायतका पार्टी हामीभन्दा पछाडि छन्, छोटो समयमा आर्जन गरेको यो विश्वासलाई अझ बढाउनु पर्ने चुनौती हामीलाई छ,’ प्रवक्ता आचार्यले भने।
विवेकशील साझाको विभाजनले आमशुभेच्छुकको मनोभावनामा नकारात्मक असर परेको स्वीकार्दै आचार्यले पार्टी प्रवेशको लहरलाई व्यवस्थित गर्दै चाँडै त्यसको क्षतिपूर्ति गर्ने दृढता व्यक्त गरेका छन्।
‘पार्टीका केही साथीहरु बाहिरिएपनि अहिले विभिन्न क्षेत्रका उर्जावान युवा साथीहरु विवेकशील साझाको कार्यालयमै आएर सदस्यता लिँदै हुनुहुन्छ, बौद्धिक वर्गसहित सामाजिक जीवनमा महत्वपूर्ण कार्य गर्ने व्यक्तिहरु पार्टी प्रवेश गरिरहनु भएको छ,’ उनले भने, ‘यसले हामीलाई हौस्याएको छ, हामीले आशा जित्यौं, आशा जगायौं, अब विश्वास जित्ने कोसिसमा छौं।’