नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सोमवार भएको निर्वाचनमध्ये शनिवारदेखि केन्द्रीय सदस्य (खुला तर्फ ३५ जना)को मतगणना शुरू हुँदैछ ।
मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा हुन लागेको हो ।कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवार आफू वा आफ्नो १ जना प्रतिनिधि मतगणना कार्यमा उपस्थित गराउन प्रत्येक उम्मेदवारलाई आग्रह गरेको छ ।
खुला केन्द्रीय सदस्य ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् । पार्टीका सबै पदाधिकारीको मतगणना शुक्रवार सम्पन्न भएको छ ।
महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा हालसम्म सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भइसकेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ जनाले उम्मेदवारी दिएका थिए । कांग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि (मतदाता) ४ हजार ७४३ रहेका छन् ।
केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये १ सभापति, दुई उपसभापति, २ महामन्त्री र समावेशीका विभिन्न ८ क्लस्टरअन्तर्गत ८ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।
यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला ९, प्रत्येक प्रदेशबाट ३ जनाका दरले २१, दलित ९, आदिवासी जनजाति १५, खसआर्य १३, मधेशी ९, थारु ४, मुस्लिम ३, पिछडिएको क्षेत्रबाट १, अल्पसंख्यकबाट १, अपाङ्गताबाट १ सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेसको विधानको व्यवस्था छ ।जम्मा १६७ सदस्यीय केन्द्रीय समितिमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनित गर्ने विधानमा उल्लेख छ ।