बुद्धजन्मस्थल लुम्बिनीमा सांस्कृतिक महोत्सव तथा सडक खाना महोत्सव हुने भएको छ ।
लुम्बिनी होटल सङ्घले आज लुम्बिनीमा पत्रकार सम्मेलनको आयोजना गरी अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा लुम्बिनीको मुख्य बजार महिलवारमा पुस १६ र १७ गते लुम्बिनी सांस्कृतिक तथा आठौँ सडक खाना महोत्सव आयोजना गर्न लागेको जानकारी गराएको हो। महोत्सवमा विभिन्न खानाका परिकारका एक सयभन्दा बढी स्टल रहने छन् ।
महोत्सवको आकर्षणका रूपमा विभिन्न देशका खानाका परिकार, स्थानीय बिराहा नाच, विभिन्न जातिहरुको संस्कृति झल्कने प्रस्तुति तथा सांस्कृतिक कार्यक्रम रहने अध्यक्ष गोविन्द ज्ञवालीले जानकारी गराए । कोरोना महामारीका कारण विगत दुई वर्ष सडक खाना महोत्सव आयोजना गर्न नसकिएकाले यसपटकको महोत्सव विशेष रहने उनको भनाइ छ ।
सङ्घका अनुसार महोत्सवमा पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालय, लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष तथा विभिन्न पालिकाको सहयोग रहने छ । खाना महोत्सवमा रुपन्देहीसहित कपिलवस्तु, नवलपरासीलगायत भारतीय सीमावर्ती बजारका साथै लुम्बिनी भ्रमणमा आउने विदेशी पर्यटकहरूको समेत सहभागिता रहने छ ।
लुम्बिनीको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको महोत्सवमा नेपाली विभिन्न जातजातिका खाना, विदेशीमा भारतीय, चिनियाँ, थाई, कम्बोडियली, कोरियाली, श्रीलङ्ककाली, युरोपेली देशका खानाका परिकारसमेत राख्ने तयारी गरिए पनि कोरोना महामारीका कारण लुम्बिनीका बिहार बन्द रहेकाले सम्भव नदेखिएको उपाध्यक्ष लीलामणि शर्माले बताए ।
खाना महोत्सव अवधिमा होटलमा बास बस्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि लुम्बिनी क्षेत्रका होटलमा आवासमा ६० प्रतिशत छुटको व्यवस्था गरिएको निवर्तमान अध्यक्ष मिथुनमान श्रेष्ठले बताए। सङ्घका अनुसार लुम्बिनीमा ९० वटा होटल सञ्चालनमा रहेका छन् । महोत्सव आयोजनाका लागि रु ३३ लाख पाँच हजार खर्च लाग्ने अनुमान गरिएको छ ।