काठमाडौं, ७ फागुन – गत शुक्रबारदेखि भाइरल बनेको गीत हो ‘लुटन सके लुट’ । चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको उक्त गीतमा समावेश केही शब्दहरु अशोभनीय भएको भन्दै सत्तारुढ नेकपाका भ्रातृ संगठनहरुका नेताहरुले हटाउँन दबाब दिएका थिए।
युवा संघका नेताहरुको दबाबलाई थेग्न नसकेपछि गायक शर्माले गत शनिबार नै गीत युटयुवबाट हटाएका थिए। तर गायक शर्माले गीत हटाएपनि ‘लुटन सके लुट’ सामाजिक सञ्जालमा भाइरल बन्यो। आजका दिनसम्म पनि भाइरल बनिरहेको छ।
सामाजिक सञ्जालमा मानक खडा गरेको ‘लुटन सके लुट’ बोलको गीतले सत्तारुढ दल नेकपाभित्र पनि चर्को वहस सिर्जना गरिदियो। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षका नेताहरु गायक शर्माको गीतलाई स्वभाविक रुपमा लिनुपर्ने तर्क गरिरहेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता कार्यकर्ताहरु आक्रोशित बनेका छन्।
संसदमा पनि ‘लुट्न सके लुट’
पुशुपति शर्माको ‘लुट्न सके लुट ’ बोलको गीतले सत्ता पक्ष र प्रतिपक्षलाई समेत वाक युद्धमा उतारेको छ। अर्को शब्दमा भन्दा शर्माको ‘लुट्न सके लुट’ बोलको गीतले संसदमा पनि प्रवेश पाएको छ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले गायक शर्मालाई २५ हजार पुरस्कार स्वरुप प्रदान गर्ने घोषणा गरेका थिए। तर नेकपाका सांसद झपट रावल त्यसको काउन्टरमा उभिए। रावलले सुशील कोइरालाको सरकार भएको बेला ‘मलाई अमेरिका यही’ बोलको गीत गाएका शर्माले अहिले अज्ञानतामा यस्तो गीत गाएको टिप्पणी गरे।
विपक्षी सांसद सिंहले पुरस्कार दिने घोषणा गरेकोमा असन्तुष्ट जनाउँदै उनले भने, ‘तपाई आफैं त्यो गीत गाउनुहोस्, म एक महिनाको पाारिश्रमिक दिन्छु।’ वाक युद्धमा उत्रेका पक्ष र प्रतिपक्षि सांसदहरुले गायक शर्माको गीतलाई आफ्नो इन्टेस मा ब्याख्या गरेको छर्लङग देखिन्छ।
त्यस्तै गत आइतबार विवेकशील साझा पार्टीका कार्यकर्ताले गायकको शर्माको गीत बजाउँदै माइतिघर मण्डलामा प्रदर्शनसमेत गरेका थिए ।