बागलुङ , ७ फागुन – नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले मध्यपहाडी लोकमार्गले नेपालको आर्थिक विकासमा ठूलो टेवा पु¥याउने बताएका छन्।
नयाँ शक्तिले शुरु गरेको ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा’ अभियानअन्तर्गत आज बागलुङकोे निसिखोला गाउँपालिका पुगेका पूर्वप्रधानमन्त्री भट्टराईले जनसंवाद सभामा स्थानीय स्तरमा हुने खेती प्रणालीलाई आधुनिक तरिकाले उत्पादन गर्न सकेमा मात्र उत्पादनलाई बजारीकरण गर्न सकिने बताए।
संयोजक भट्टराईले राजनीतिक चेतना सुधार्नका लागि आफू जनसंवाद यात्रा लिएर आएको बताउँदै जनतामा राजनीतिक चेतना हुनु आवश्यक रहेको बताए।
पहाडमै समृृद्धिको सम्भाव्यता अध्ययन र पहिचानका लागि गत माघ १५ गते चिवाभञ्ज्याङबाट जनसंवाद थालेका डा.भट्टराईले निर्माणाधीन अवस्थामा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको कामलाई तीव्रता दिन र गुणस्तर निर्धारण गराउन आफ्नो अभियानमा आफू हिँडेको बताए।
फागुन १५ गते पश्चिमको झुलाघाट पुगेर सम्पन्न हुने यात्राका क्रममा लोकमार्गको सबै ठाउँमा भइरहेको कामको प्रगति निरीक्षण गरिने डा.भट्टराईले जानकारी दिए। रासस