अदालतको आदेशमा चार बर्षपछि आइतबार महोत्तरीको एक वडामा भएको स्थानीय तह निर्वाचन २०७४ को मतगणनामा मतपरिणाम उल्टिएको छ ।
उच्च अदालत जनकपुरधाम र सर्वोच्च अदालतले दिएको आदेश बमोजिम महोत्तरीको मनरासिस्वा नगरपालिका–१० को पुनः मतगणना हुँदा पहिले पराजित उम्मेदवार विजयी भएका हुन् ।
यसअघि निर्वाचन आयोगले यो वडामा नेपाली कांग्रेसका उम्मेदवार अरुण चौधरी विजयी भएको घोषणा गरेको थियो । तर आइतबार भएको पुन मतगणनामा स्वतन्त्र उम्मेदवार रमेश राय विजयी भएका हुन् । ४ वर्षअघि स्थानीय तहको निर्वाचनका क्रममा दुबै उम्मेदवारले २६७ मत ल्याएको भन्दै निर्वाचन आयोगले गोला प्रथाबाट चौधरी निर्वाचित भएको घोषणा गरेको थियो ।
तर पुनः मतगणनाको माग गर्दै स्वतन्त्र उम्मेदवार रमेश रायले उच्च अदालत जनकपुरधाममा मुद्दा दिएका थिए ।