काठमाडौँ । प्रतिनिधिसभामा गृहमन्त्री सुधन गुरुङ र परराष्ट्रमन्त्री शिशिर खनालले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनीहरुले जवाफ दिएका हुन् ।
सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्री सहित मन्त्रीहरुले जवाफ दिनका लागि रुलिङ गरे अनुसार सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन्। गत भदौ १ गतेको बैठकमा सभामुख अर्यालले सांसदद्वय गोपाल शर्मा र आशिका तामाङले उठाएका जनसरोकारका विषयमा तीन दिनभित्र स्पष्ट पारिसक्न सरकारका नाममा निर्देशनात्मक रुलिङ जारी गरेका थिए ।
नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले गत साउन २२ गतेको बैठकमा जाजरकोट र सल्यानका भूकम्प प्रभावित क्षेत्रमा सरकारले जिम्मेवारीपूर्वक पुनर्निर्माण तथा राहतको काम गर्नुपर्ने भन्दै जवाफका लागि नौ दिनको समय सीमा दिएको थिए । समयसीमाभित्र सरकारका तर्फबाट कुनै जवाफ नआएपछि सांसद शर्माले सभामुखसमक्ष रुलिङको माग गरेका थिए । सोहीअनुसार बुधबार प्रतिनिधिसभा बैठकमा उपस्थित भई गृहमन्त्री सुधन गुरुङले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा सरकारले तोकिएको मापदण्डअनुसार प्राथमिकताका साथ काम गरिरहेको जानकारी दिए ।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले धादिङका सन्तोष राईको शव कम्बोडियामा रोकिएको तर नेपाल ल्याउन सरकारले आवश्यक कूटनीतिक पहल नगरेको भन्दै प्रश्न उठाएका थिए । सांसद तामाङले सो विषयमा स्पष्ट जवाफ नआउन्जेल संसद्मा उभिएर विरोध जनाउने चेतावनी दिएपछि सभामुखले सरकारलाई रुलिङ गरेक थिए । सोही क्रममा मङ्गलबार परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधिसभामा उपस्थित भई अवैधानिक रूपमा वैदेशिक रोजगारमा गएका नागरिकलाई फर्काउने तथा शव ल्याउने सन्दर्भमा केही कानुनी र व्यावहारिक जटिलताहरू रहेको स्पष्ट पारे ।