काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले मुलुकमा देखिएका गम्भीर समस्या समाधानका लागि राजनीतिक पहल अघि बढाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सुझाव दिएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले जनसरोकारका विषय र मुलुकका विद्यमान समस्यालाई समाधान गर्न सत्तारूढ दलका सभापतिले प्रमुख राजनीतिक नेताको हैसियतमा जिम्मेवारी लिनुपर्ने बताए। उनले प्रधानमन्त्रीसहित सिङ्गो सरकारको पुनर्गठनका लागि तत्काल राजनीतिक पहल गर्नुपर्ने विकल्पसमेत अघि सारे। प्रधानमन्त्री राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पुनःस्थापनाको बाटोमा फर्किएर जनता तथा संसद्प्रति पूर्ण जवाफदेही हुनुपर्ने उनको भनाइ थियो। थापाले नागरिकले भोग्नुपरेका हत्या, आत्महत्या, आत्मदाह, झुट्टा मुद्दा तथा गैरकानुनी गिरफ्तारीजस्ता घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताए।
सरकार राज्यशक्ति र संख्याको बलमा नभई संविधान, ऐन तथा कानुनको सीमाभित्र रहेर सञ्चालन हुनुपर्नेमा उनले जोड दिए। उनले जनताको अपेक्षा र सरोकार सम्बोधन गर्न सभामुखले संसद्मा तत्काल स्पष्ट रुलिङ गर्नुपर्ने बताए। सभामुख कुनै दल वा पक्ष विशेषको नभई निष्पक्ष रूपमा संसद् सञ्चालन गर्ने निर्देशक र संसद्को अभिभावकको भूमिकामा रहनुपर्ने उनको भनाइ थियो।आफूले अघि सारेका राजनीतिक विकल्प कार्यान्वयन नभए मुलुकमा व्यापक जनआन्दोलनको अवस्था सिर्जना हुन सक्ने चेतावनीसमेत थापाले दिए।