सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलका नेता मंगलबहादुर शाही मुख्यमन्त्री नियुक्त भएको तीन साता पछि कर्णाली प्रदेश सरकार विस्तार भएको छ। सत्ता साझेदार दल नेकपा (एमाले) को तर्फबाट सरकारमा सहभागी हुने तीन जना नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
बुधबार साँझ आयोजित एक विशेष समारोहका बिच प्रदेश प्रमुख यज्ञराज जोशीले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । एमालेको तर्फबाट सरकारको नेतृत्व गर्दै टेकराज पछाईँले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । यसैगरी, सामाजिक विकास मन्त्रीमा जितबहादुर मल्ल र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा कलबहादुर हमालले शपथ लिए ।
सत्तारुढ दल नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच मन्त्रालय भागबन्डामा सहमति जुटेसँगै मन्त्रिपरिषद् विस्तारको बाटो खुलेको हो। दुई दलबिच भएको सहमतिअनुसार एमालेले आफ्नो भागमा परेका तीनवटै मन्त्रालयमा मन्त्रीहरूको टुङ्गो लगाएर शपथ गराएको भए पनि सत्ता नेतृत्वकर्ता दल नेकपाले भने आफ्ना मन्त्रीहरूको नाम अझै अन्तिम टुङ्गो लगाउन बाँकी रहेको छ।