काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता भाग्य रायले सर्लाहीको गोडैता नगरपालिकाको नगर प्रमुख (मेयर) पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै उनले सुशासन, पारदर्शिता, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र आधुनिक पूर्वाधारको विकासका लागि आफ्नो उम्मेदवारी रहने बताएका छन् ।
रायले गोडैताको विकास कुनै व्यक्ति, परिवार वा दलको नभई सम्पूर्ण नगरबासीको साझा अधिकार भएको उल्लेख गरेका छन् । भाषणभन्दा काम, प्रचारभन्दा परिणाम र राजनीतिक पहुँचभन्दा जनताको पहुँचलाई आफ्नो मुख्य प्राथमिकता बनाउने उनले लेखेका छन् ।
“हाम्रो गोडैता, हाम्रो जिम्मेवारी” भन्ने नाराका साथ युवाहरूले भविष्य देख्न सक्ने, किसानले उपजको उचित मूल्य पाउने, विद्यार्थीले गुणस्तरीय शिक्षा र बिरामीले सहज स्वास्थ्य सेवा पाउने नमुना नगरपालिका बनाउने सङ्कल्प रायले व्यक्त गरेका छन् ।