काठमाडौं, ६ माघ – नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले नेतृत्वको असन्तुष्ट समूहले अब बन्ने तदर्थ समितिमा आफ्नो समूहलाई पहिलो हिस्सा दिन माग गरेको छ। वाल्मीकी क्याम्पसमा पत्रकार सम्मेलन गरेर काफ्लेले तदर्थ समिति गठन गर्दा विधानको पूर्ण पालना गर्न र आफ्नो समूहलाई हैसियत अनुसारको हिस्सा दिन माग गरेका हुन्।
कांग्रेसका युवा नेता काफ्लेले नेविसंघको अघिल्लो महाधिवेशनमा आफ्नो समूहले सबैभन्दा बढी मत पाएको र केन्द्रीय समितिमा सबैभन्दा ठूलो शक्तिको रुपमा रहेको भन्दै सोही अनुसार तदर्थ समिति बनाउन माग गरे। ‘हामी नेविसंघमा भागबण्डा गरेर तदर्थ समिति बनाइदैछ भन्ने सुनिरहेका छौं। हामी नेविसंघको पहिलो शक्ति हौं, सोही अनुसारको उपस्थिति नभए मान्दैनौं,’ काफ्लेले भने।
नेविसंघमा आफ्नो समूहको बलियो उपस्थिति रहेको काफ्लेको दावी छ। नेविसंघको पारित विधानमा उमेर हद लगाउने निर्णय भइसकेको प्रष्ट पार्दै काफ्लेले ३२ वर्षमाथिको नेतृत्व आए समानान्तर समिति चलाउने चेतावनी दिए।
कार्यक्रममा उपाध्यक्ष रामप्रसाद अधिकारीले पार्टीकै असहयोगका कारण महाधिवेशन नभएको टिप्पणी गर्दै तत्काल तदर्थ समिति बनाएर ६ महिनाभित्र महाधिवेशन गर्नुको विकल्प नरहेको बताए। अर्का उपाध्यक्ष डिल्लीराम सुवेदीले नेविसंघलाई विद्यार्थीहरुको नियन्त्रणबाहिर लगेर पार्टी नेताको मुठ्ठीमा राख्ने कदम चालिए सह्य नहुने चेतावनी दिए।
नेवि संघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले महामन्त्री कुन्दनराज काफ्लेलाई अध्यक्ष बन्नबाट रोक्न पार्टीले नेविसंघभित्र अस्थिरता उत्पन्न गरेको बताए। विगठन हुने परिस्थितिमा पुर्याएको बताए। भट्टले उमेरको हदबन्दीको बहस लहडको भरमा कैले ३२ वर्ष लगाउने त कैले हटाउने बहस गर्नु पार्टीको नेतृत्वको कमजोरी भएको भएको बताए।
https://www.youtube.com/watch?v=YeJRfIUDiRA