काठमाडौं, ६ फागुन – नेपाली कांग्रेसका नेता एवं सांसद डा. अमरेशकुमार सिंहले गायक पशुपति शर्मालाई २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन्।
प्रतिनिधिसभाको शून्य समयमा आफ्नो धारणा राख्दै सिंहले जनताको आवाजलाई गीतमार्फत प्रस्तुत गरेका गायक शर्मालाई पुरस्कृत गर्ने बताएका छन्। दुईतिहाइको दम्भमा गीतमाथि प्रतिबन्ध गर्न खोजिएको टिप्पणी उनले गरेका छन्।
‘जनबोली गाउने गायकलाई आफ्नो फागुन महिनाको पारिश्रमिकबाट २५ हजार रुपैयाँ दिने घोषणा गर्न चाहन्छु,’ उनले भने।
जनताको अधिकारका रुपमा रहेको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह गर्दै सिंहले दुईतिहाइ सरकारका अगाडि त्यस्तो गीत नगाउने भनेर प्रतिबन्ध गर्न खोजेकोमा विरोध जनाए।
‘जनताको भावना व्यक्त गर्न पाइन्छ?, त्यस्तोलाई त मुखमा ताला लगाउनुपर्छ, सुन्नेलाई कानमा मर्करी या सीसा पगालेर राख्नुपर्छ भन्ने सरकारको बुझाइले लोकतन्त्र कहाँ हो?,’ उनले प्रश्न गरे।
फागुन महिनाको पारिश्रमिकबाट २५ हजार रुपैयाँ गायक शर्मालाई पुरस्कारबापत दिने सिंहले उल्लेख गरे।