काठमाडौं, ६ माघ – अखिल नेपाल जनसांस्कृतिक महासंघले गायक पशुपति शर्माको गीत ‘लुट कान्छा लुट’ गीतलाई यूट्युबबाट हटाउन बाध्य पारिएको घटनाप्रति गम्भीर आपत्ति प्रकट गरेको छ।
महासंघका अध्यक्ष माइला लामाद्वारा जारी प्रेस विज्ञप्तिमा गीत हटाउन लगाएर सरकारले निकृष्ट र निर्लज्ज सामाजिक फासिवादी हर्कत गरेको ठहर्याइएको छ।
केपी ओली र प्रचण्डको नेतृत्वको नेकपाको सरकार दुईतिहाइको कम्युनिष्ट आवरणमा दिन–प्रतिदिन देश र जनताका विरुद्ध जाइलाग्न थालेको लामाले विज्ञप्तिमार्फत बताएका छन्।
शान्ति र समृद्धि’को भाषण गरेर नथाक्ने ओली सरकारले पशुपति शर्माको ‘लुट कान्छा लुट सकेजति लुट अरू देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको जागरणमूलक गीतमाथि जाइलाग्दै बन्द गराएको तथा सरकार, सरकारका केही मन्त्री र सरकारनिकट भातृ संगठनको धम्कीपूर्ण चर्को दबाबपछि यो गीतलाई यू–ट्युबबाट हटाइएको उनले बताएका छन्।
‘सरकारको यो हददर्जाको निकृष्ट रवैयाप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ, यो सरकारको अर्को निकृष्ट र निर्लज्ज सामाजिक फासिवादी हर्कत हो,’ विज्ञप्तिमा भनिएको छ।
नेपाली समाज अहिले विभिन्न समस्याबाट गुज्रिरहेको स्मरण गर्दै लामाले अधिकांश समस्याका मुख्य कारक तत्व सरकार आफै बन्न पुगेको आरोप लगाएका छन्।
‘सरकारको यस किसिमको रवैयाको चारैतिरबाट विरोध र भर्त्सना पनि हुँदै आएको छ, यही विरोध, भण्डाफोर र जनजागरणस्वरूप पशुपति शर्माले प्रस्तुत गीतबाट नेपाली जनताका बीचमा जुन जागरण फैलाउन कोसिस गर्नुभएको छ, त्यसको निम्ति हामी पशुपति शर्मालाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ।
देशभक्त, क्रान्तिकारी, परिवर्तनप्रेमीहरूलाई कथित दुईतिहाइको दम्भमा बन्दुक र बुटको आतंक सिर्जना गर्दै देश र जनताका विरुद्ध उभिएको ओली सरकारका विरुद्ध गीतबाट यति बोल्नु पनि साहसिक कार्य रहेको महासंघको ठहर छ।
नेपालको हरेक राजनीति परिवर्तनमा लेखक, साहित्यकार तथा कलाकारहरूले आ–आफ्नो क्षेत्रबाट महत्वपूर्ण योगदान दिँदै आएको प्रष्ट्याउँदै अध्यक्ष लामाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘महान् जनयुद्धमा कलाकारहरूको अत्यन्त महत्वपूर्ण भूमिका थियो। जनयुद्धको दौरान कयौँ कलाकारले बलिदानको कोटा पनि चुक्ता गर्नुभयो। जनविरोधी शासनव्यवस्था अस्वीकार गरेकै भरमा कवि कृष्ण सेन इच्छुकलाई सत्ताले महेन्द्र पुलिस क्लबमा कुटीकुटी हत्या गरेको थियो। जनआन्दोलनको दौरानमा सहरका कलाकारहरूले सडकमै उत्रिएर परिवर्तनको स्वर घन्काउनुभएको थियो। ती कलाकारको जुन बलिदान, जुन परिवर्तनको स्वरले वर्तमान सरकार सत्तासीन हुन पुगेको छ, आज तिनै कलाकारलाई यो सरकार दुश्मन ठानिरहेको छ। यो आश्चर्यको विषय हो।’
कलाकारले गीतका माध्यमबाट आफ्ना भावना व्यक्त गर्न रोक लगाउनु सरासर फासिवादी चिन्तनको उपज रहेको तर्क गर्दै महासंघले यसले सरकार जनताको कुरा सुन्न तयार छैन भन्ने कुरालाई नै प्रमाणित गरेको बताएको छ। जनताका मौलिक हक–अधिकारका खिलाफ स्वयं सरकार उभिएपछि यतिबेला तिनका विरुद्ध सशक्त प्रतिवाद गर्नु, प्रतिरोध गर्नु जनताको नैसर्गिक अधिकार बन्न पुगेको विज्ञप्तिमा बताइएको छ।
