चौथो अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा नेपालले दुईवटा कास्य जितेको छ। लाटिभियाको आयोजनामा सम्पन्न उक्त प्रतिष्पर्धामा आर्यन श्रेष्ठ र निराजन रानाले नेपाललाई कास्य पदक दिलाएका हुन्।
यो संस्करणमा आफूहरु रजत पदक जित्ने लक्ष्यका साथ प्रतिस्पर्धामा उत्रिए पनि सामान्य त्रुटीले कास्य पदकमा सीमित हुनु परेको नेपाल इकोनोमिक्स ओलम्पियाडका सह–संस्थापक भूपदेव शाहले जानकारी दिए।
‘हामी सहभागी भएको पहिलो वर्ष एक कास्य र दोस्रो वर्ष २ कास्य जित्न सफल भएका थियौँ,’ शाहले भने, ‘यो वर्ष हाम्रो रजत जित्ने लक्ष्य भएपनि सामान्य त्रुटीका कारण हामी कास्यमै सीमित भयौँ। तर, हाम्रा खेलाडीहरुले आफ्नो बेस्ट भने दिएका थिए। हामी यो कुराले सन्तुष्ट छौँ।’
जुलाई २६ देखि १ गतेसम्म चलेको सो प्रतियोगितामा ४४ राष्ट्रबाट २१४ प्रतिस्पर्धी सहभागी थिए।
नेपालका तर्फबाट ओलम्पियाडका अध्यक्ष अर्जुन सापकोटा र जीवन महर्जनको नेतृत्वमा देशव्यापी प्रतियोगिता आयोजना गरेर उत्कृष्ट दुई प्रतिस्पर्धीहरु छनौट भएका थिए।