कैलालीको मोहन्याल गाउँपालिका–३ स्थित कर्णाली नदीमा डुंगा पल्टिँदा तीनजना बेपत्ता भएका छन् भने पाँचजनाको उद्धार गरिएको छ ।
बेपत्ता हुनेमा मोहन्याल गाउँपालिका– ३ राघका उर्मिला सलामी, धनी सलामी र धनी सलामीका डेढ महिनाका छोरा रहेका छन् ।
प्रहरीका अनुसार उनीहरू आफ्ना बच्चालाई नियमित खोप लगाउन आउने क्रममा डुंगा पल्टिएको हो । आफ्नो गाउँपालिका कार्यालयमा जान एक दिन लाग्ने भएका कारण उनीहरूले आधा घण्टामै पुगिने सुर्खेतको चौकुने गाउँपालिकामा रहेको बिजौरा स्वास्थ्य चौकीबाट खोप सेवा लिँदै आएका थिए । बिजौरा आउने क्रममा आइतबार दिउँसो डुंगा पल्टिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले काठको डुंगामा सवा १० जनामध्ये तीनजना बेपत्ता भएको र अन्यको उद्वार गरिएको जानकारी दिए । बेपत्ताको खोजी कार्य भइरहेको उनले बताए ।