सांसद पद पुनर्बहाली माग गर्दै एमाले प्रदेश गरेका पूर्वमाओवादी केन्द्रका चार नेताले दिएको रिटको सुनुवाइ स्थगित भएको छ ।
प्रारम्भिक सुनुवाइका लागि बिहीबार न्यायाधीश दीपककुमार कार्कीको इजलासमा पेसी तोकिएकामा सुनुवाइका लागि समयाभाव भएकाले हेर्न नभ्याइने सूचीमा परेपछि आज न्यायाधीश डाक्टर आनन्दमोहन भट्टराईको इजलासमा पुनः सुनुवाइ तोकिएको हो ।
शुक्रबार रिट निवेदक प्रभु साहका वारेश वीरेन्द्रप्रताप साह अदालत पुगेर सुनुवाइ स्थगित गर्न निवेदन दिएका थिए । न्यायाधीश भट्टराईको इजलासमा तोकिएको पेसी रिट निवेदकको निवेदनबमोजिम स्थगित गरिएको हो ।
निवेदकहरुले आफू अनुकुलको इजलास गठन नभएको भन्दै मुद्दा स्थगित गराएको स्रोतको दाबी छ । उक्त रिट निवेदनको अर्को पेसी आइतबार तोकिनेछ ।
नेता टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार सांसद पद पुनर्बहाली माग गर्दै रिट दिएका थिए ।
सर्वोच्चमा दायर गरेको रिटमा पूर्वमाओवादी नेताहरुले आफूहरु आधिकारिक रुपमा एमाले प्रवेश नगरेको र माओवादी केन्द्रले सफाइको मौका समेत नदिइ सांसद पदबाट कारबाही गरेको जिकिर गर्दै आफूहरुमाथि गरिएको कारबाही खारेज हुनुपर्ने मागदाबी गरेका छन् ।