काठमाडौँ, ६ फागुन – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारका विरुद्ध आन्दोलनको घोषणा गरेको छ। आईतबार पार्टीले पत्रकार सम्मेलन गर्दै २२ बुँदे मागसहित आन्दोलनको घोषणा गरेको हो।
फागुन ७ गते प्रधानमन्त्रीलाई आफ्ना मागसहितको ज्ञापन पत्र बुझाएर आन्दोलन सुरु गर्ने राप्रपा अध्यक्ष कमल थापाले जानकारी दिएका छन्। फागुन ७ गते नै राप्रपाले सातै प्रदेशको राजधानीमा मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीलाइसमेत ज्ञापन पत्र बुझाउने अध्यक्ष थापाले बताए।
उनले भने,‘हामी सरकारलाई ज्ञापन पत्र बुझाएर फागुन मशान्तसम्म समय दिन्छौं, उक्त समयभित्र पनि हाम्रा मागहरु पूरा गरिएन भने अनिश्चित कालिन् आन्दोलन गर्नेछौं।
यस अघि राप्रपा केन्द्रीय समितिको बैठकलेसमेत हिन्दु राष्ट्र पुनः स्थापनाको मागसहित ७ फागुनबाट जन संघर्ष गर्ने निर्णय गरेको थियो। पहिलो चरणमा ७ फागुनमा प्रधानमन्त्री, प्रदेशका मुख्यमन्त्री र ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने कार्यतालिका सार्वजनिक गरेको थियो।
यसै क्रममा फागुन १५ गतेदेखि ३० गतेसम्म ताप्लेजुङबाट कञ्चनपुर हुँदै काठमाडौँसम्म मेची–महाकालि राष्ट्रिय स्वाभिमान यात्रा गर्ने राप्रपाको कार्यतालिकामा उल्लेख गरिएको छ।