नेकपा एमालेको माधव नेपाल पक्षीय केही प्रतिनिधिसभा सदस्य प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत नदिएर बाहिरिएका छन् ।
देउवाद्वारा प्रस्तुत विश्वासको मतको सन्दर्भमा छलफल चलिरहेका बेला नेपाल पक्षका केही सांसद बाहिरिएका हुन् ।
जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले पनि देउवालाई विश्वासको मत दिने भएपछि बैठकबाट बाहिरिएको सांसद झपट रावलले जानकारी दिए ।
नेपाल समूहका सबै सांसदले देउवालाई विश्वासको मत दिने छैनन् । एमाले विवाद समाधानका लागि गठित कार्यदलमा रहेका घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डका साथै योगेश भट्टराई, दीपकप्रकाश भट्ट, झपट रावल, यज्ञराज सुनुवार, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, राजबहादुर बुढालगायत अन्य केहीले पनि विश्वासको मत नदिने भएका हुन् ।
कांग्रेससँगै माओवादी केन्द्र र जसपाले मत दिने भएपछि देउवाले विश्वासको मत पाउने निश्चित छ ।