निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वाेच्च अदालतले अत्याधिक न्यायिक सक्रियतासहित राजनीतिक विषयमा हात हालेर दलीय व्यवस्थामाथि धक्का दिन खोजेको टिप्पणी गरेका छन् ।
मंगलबार देशवासीका नाममा आज सम्बोधनका क्रममा उनले कहिलेकाँही मागै नभएका विषयमा पनि हात हालेर गन्तव्यमा पुग्न नसकिने जनाउँदै भने, ‘खेल खेल्ने जिम्मेवारी खेलाडीहरुको हो तर रेफ्री आफैँले खेल खेल्ने चाहना राखेमा समस्या हुन्छ । अदालतको फैसलाबाट दलीय प्रणालीमाथि धक्का दिइएको छ । संविधान संशोधन गराउन खोजिएको छ । राज्यका अङ्गहरुमाथि जनताको विश्वास गुम्ने र जनतामा नैराश्य उत्पन्न भई भयावह दुष्परिणाम ल्याउन सक्ने स्थिति पैदा गराइएको छ ।’
आफ्नो प्रधानमन्त्रित्वको अन्तिम दिन उनले पहिला पनि आफू सरकारबाट बाहिरिएको र जनताका मतबाट पुनः सरकारको नेतृत्वमा पुगेको स्मरण गर्दै कहिलेकाहीँ जनताका अपेक्षा र संसदीय अंकगणितका बीचमा विरोधाभास हुने भएकामा अब राज्यका अनय निकायका फैसलामा पनि विरोधाभास देखिने स्थिति आएको भनाइ व्यक्त गरे ।
‘मेरो अटल विश्वास जनतामाथि छ । यो नै अन्तिम होइन । सरकारबाट बाहिरिनु परेकामा मलाई रत्तिभर चिन्ता छैन, मैले देश र जनताको हित र सेवालाई ध्यानमा राखेर सम्पूर्ण इमान्दारी तथा विकासलाई नयाँ सोचसहित असाधारणरुपमा अगाडि बढाएँ’, प्रधानमन्त्री ओलीले भने, ‘प्रतिकूल अवस्थामा पनि महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न सफल भएका छौँ । मलाई प्रचार गर्नु छैन, देश र जनताका लागि काम गर्नु छ । म जहाँ रहेर पनि त्यही भूमिका निर्वाह गर्नेछु ।’
सर्वोच्च अदालतको सोमबारको फैसलाले प्रतिनिधिसभा पुनःस्थापना गरी मंगलबार अपराह्नसम्म शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
त्यसअनुसार राष्ट्रपति विद्यागदेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरिसकेकी छन् भने साँझ ६ बजे शपथ ग्रहणको कार्यक्रम छ ।