जयपुर सहरमा चट्याङका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ। आइतवारको घटनामा धेरै जना घाइते भएका छन्।
पीडितहरूले १२औ शताब्दीमा बनाइएको प्रख्यात पर्यटकीय स्थल आमेर किल्लामा सेल्फी खिचिरहेका बेला घटना भएको बताइएको छ। त्यस बेला किल्ला र आसपासका स्थानमा २७ जना रहेको र तीमध्ये केहीले भुइँमा हाम फालेको बताइएको छ।
राजस्थानका विभिन्न स्थानमा आइतवार नै चट्याङका कारण थप नौ जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।
राजस्थानका मुख्यमन्त्री अशोक गहलौतले मृत्यु हुनेहरूका परिवारलाई क्षतिपूर्ति बापत ५००,००० रूपैया दिने घोषणा गरेका छन्।