हुम्लामा चालू आर्थिक वर्षको अन्तिम महिना असार मसान्तका कारण निषेधाज्ञा हटाइएको हुम्लामा पुनः कोरोना सङ्क्रमितको सङ्ख्या अनपेक्षित रुपमा बढेको छ ।
असार मसान्तमा सरकारी कार्यालयको भुक्तानी लिन जिल्लाका सातवटै स्थानीय तहका उपभोक्ता समिति जिल्लामा केन्द्रित भएपछि सङ्क्रमितको सङ्ख्या बढेको जनस्वास्थ्य कार्यालय हुम्लाले जनाएको छ ।
सबै बजार, व्यवसाय खुला भएपछि गाउँबाट आएका उपभोक्ताले स्वास्थ्यका न्यूनतम मापदण्ड (मास्क, स्यानिटाइजरको प्रयोग, सामाजिक दूरी कायम गर्ने) कामलाई पालना नगरेका कारण सङ्क्रमितको सङ्ख्या निकै धेरै बढेको जिल्ला अस्पताल हुम्लाका निमित्त सुपरिटेन्डेन्ट डा टसी याञ्जुक लामाले जानकारी दिए ।
‘केही दिनयता हुम्लामा परीक्षण गरेको शतप्रतिशतमा कोरोना संक्रमण पुष्टि हुन थालेको छ’, डा लामाले भने, ‘यस्तै प्रकारले सङ्क्रमितको सङ्ख्या बढ्ने हो भने जिल्ला अस्पतालले मात्रै सङ्क्रमितलाई उपचारको व्यवस्था गर्न नसक्ने अवस्था छ ।’
यस्तै, बागलुङको सदरमुकामस्थित धवलागिरि अस्पतालमा पछिल्ला दुई दिनमा चार कोरोना सङ्क्रमितले ज्यान गुमाए । मृत्यु हुनेमा २३ वर्षीया युवतीसमेत हुन् । गम्भीर सङ्क्रमणका कारण अस्पतालको सघन उपचार कक्षमा तीन जना उपचाररत छन् ।
आइसोलेशनमा रहेका बिरामीमा पनि श्वासप्रश्वासको समस्या बढी छ । दुई साता अघितिर अस्पताल भर्ना हुने सङ्क्रमितको सङ्ख्या सातमा झरेकामा अहिले क्रमशः बढ्दै १२ पुगेको छ । जिल्लाभर सक्रिय सङ्क्रमित घटेर दुई सय ५४ पुगेकामा शनिबारसम्ममा पुनः सङ्ख्या उकालो लागेर तीन सय २२ पुगेको छ ।
यसले केही दिन थामिएजस्तो देखिएको सङ्क्रमण फेरि बढ्न थालेको सङ्केत गर्छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा गरिएको कूल पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर २४.७ प्रतिशत छ जबकी नेपालको सङ्क्रमण दर १९.०१ प्रतिशत मात्र छ ।
कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले सङ्क्रमणसँगै मृत्युका घटना पुनः बढेको बताए । ‘होम आइसोलेशनमा बसेका सङ्क्रमित स्वास्थ्य स्थिति गम्भीर भइसकेपछि मात्र अस्पताल आउँदा मृत्यु बढेको हो’, उनले भने, ‘ ।
शुक्रबार दिउँसो मृत्युवरण गरेकी तमानखोला गाउँपालिका–१ की २३ वर्षीया युवतीलाई पनि अस्पताल ल्याउन ढिलाइ भएको स्रोत व्यक्ति घिमिरेले बताए ।
अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले कतिपय कोरोनाका बिरामी अक्सिजनको तह घटेर २५÷३० सम्म पुगेपछि बल्ल अस्पताल आउने गरेको सुनाए ।
स्वास्थ्य गम्भीर बनेपछि मात्र अस्पताल आएकै कारण कतिपय बिरामीलाई हरप्रयास गर्दा पनि बचाउन नसकिएको प्रमुख चिकित्सक पोखरेलले बताए । निषेधाज्ञा खुकुलो पारिएसँगै सङ्क्रमणको जोखिम पनि उत्तिकै बढेको हुँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा कडाइ गर्नुपर्ने उनको भनाइ छ ।
स्वास्थ्य कार्यायलको आँकडा अनुसार बागलुङ नगरपालिकाका पाँच, बडिगाड गाउँपालिकाका दुई, तमानखोला गाउँपालिकाका दुई र गलकोट नगरपालिकाको एक वडा कोरोना सङ्क्रमणको उच्च जोखिममा छन् । जिल्लाभरमा मध्यम जोखिम भएका ३६ र न्यून जोखिम भएका ३९ वडा छन् ।
पहिलो र दोस्रो लहरमा गरी हालसम्म २० हजार जनामा कोरोना परीक्षण गर्दा पाँच हजार बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । कोरोनाका कारण जिल्लामा ६९ जनाले ज्यान गुमाइसकेका छन् । उपचारका क्रममा जिल्ला बाहिरका अस्पतालमा मृत्यु भएकाको सङ्ख्या जोड्दा त्यो अझ बढी हुन आउँछ । रासस