आइतबार बिहानदेखी बसेको नेकपा एमाले कार्यदलको बैठक अबेर राती सकियो। लामो समयदेखी पार्टी एकता जोगाउन लागिपरेका कार्यदलका सदस्यहरुले अन्तत १० बुँदे सहमती पत्र लिएर बाहिर निस्किए।
करिब फुटको संघारमा पुगेको एमाले अब भने कम्तीमा पनि फुट्नबाट जोगिएको छ। कार्यदलले सहमती जुटाएपछी विभिन्न नेताहरुले प्रतिकृया दिएका छन्।
कसले के भने?
ईश्वर पोखरेल, महासचिव (नेकपा एमाले)
नेकपा (एमाले)मा लामो समयदेखि देखा परेको समस्याको समाधानका लागि गठित कार्यदलले पार्टीको आन्तरिक एकताका लागि १० बुँदे सहमति तयार गरेकोमा कार्यदलका साथीहरूलाई धन्यवाद! नेकपा (एमाले)को आन्तरिक जीवनमा यो अत्यन्तै सुखद छ । अब हामीले पार्टी र संगठनलाई मजबुत बनाउँदै पार्टीलाई नयाँ शिराबाट उठाउन जरूरी छ। नेकपा (एमाले) एकतावद्ध रूपमा देश र जनताको समस्या समाधान गर्न केन्द्रित रहन्छ।
गोकर्ण विष्ट, कार्यदल सदस्य एवम् सासंद
अनेकन कठिनाइका बीच नेकपा एमालेलाई एकताबद्ध गर्न सफलता प्राप्त भएको छ। यसका लागि योगदान गर्ने सम्पूर्ण नेता कमरेडहरु, पार्टीपंक्ति, समर्थक शुभचिन्तकलाई हार्दिक बधाई!
महेश बस्नेत, सांसद (नेकपा एमाले)
एकताबद्ध एमाले बनाउन दिनरात खटने कार्यदलका कमरेडहरु, सम्पुर्ण नेता , कार्यकर्ता , समर्थक र शुभचिन्तकहरुलाई पार्टी एक भएकोमा हार्दिक बधाई तथा शुभकामना।
अब विपक्षी गठबन्धनका नाउँमा सरकार र पार्टीलाई भैरहेको आक्रमण र भोलि सर्बोच्च अदालतले गर्ने फैसलाका बारेमा बाहिर आएका अनेक हल्ला अनि हाम्रो पार्टी फोर्न करौतिको भुमिका निर्बाह गरिरहेका प्रचण्डले गरेको, शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्बोच्च अदालतले परमादेश जारी गर्दैछ भन्ने घोषणालाई असत्य साबित गर्न।
देउबाको पक्षमा हस्ताक्षर गर्ने निबर्तमान सांसदहरूले तुरुन्तै आफुहरु पार्टीको एकताको भावना र निर्णय अनुसार त्यो पक्षमा नरहेको ब्यहोरा अदालत र आम जनसमुदायमा पेश गर्नु पर्दछ। सथै पार्टीले तत्काल निर्देशन जारी गर्नु पर्दछ। अनिमात्र एकताको भावना मुखरित हुनेछ।
योगेश भट्टराई, सांसद (नेकपा एमाले)
नेकपा एमालेको आन्तरिक समस्या समाधानका लागि गठित वार्ता समितिद्वारा पार्टी एकताका लागि प्रस्तावित १० बुदे सहमति स्वागत योग्य छ। वार्ता समितिका सबै कमरेडहरुलाई हार्दिक बधाई तथा धन्यवाद छ।
विष्णु रिजाल, युवा नेता (नेकपा एमाले)
अन्ततः नेकपा (एमाले) को एकता जोगिएको छ । अनेक भित्री र बाहिरी बाधाहरुलाई पन्छाउँदै कार्यदलमा रहनुभएका दोस्रो तहका नेताहरुले पार्टीलाई एकताबद्ध बनाउन निर्णायक सहमति निर्माण गर्नुभएको छ।
एमाले एकताबद्ध रहँदा एमालेको संस्थागत सहभागिताबिना प्रतिनिधिसभाबाट अर्को कुनै सरकारको गुञ्जायस नभएको यथार्थलाई मनन् गर्दै आगामी दिनमा नेपालको राजनीति सोही बमोजिम निर्धारण हुने अपेक्षा छ। अदालतदेखि अन्तर्राष्ट्रिय समुदायसम्ममा रहेका अस्पष्टताहरु आजको यस ऐतिहासिक निर्णयपछि स्वतः हट्नेछन्।
ठाकुर गैरे, युवा नेता (नेकपा एमाले)
नेकपा एमालेको आन्तरिक जिबनमा उत्पन्न समस्या समाधानका लागि गठित वार्ता समितिद्वारा पार्टी एकताका लागि जारी १० बुदे सहमतिको प्रस्तावको स्वागत गर्दछु।
सहमतिको कार्यन्वयन, निति र बिधि सम्मत पार्टी सन्चालन एवं आन्तरिक एकतालाई थप सुद्रिढ बनाउदै देश र जनताको हितका लागि अघि बढ्नु समस्त नेता, कार्यकर्ता र सदस्यहरुको युगिन कार्यभार बनेको छ।