काठमाडौं – सिंहदरबार धर्ना दिन गएका नागरिक अभियान्ताहरु पक्राउ परेका छन् ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध जारी आन्दोलनको समर्थनमा आइतबार सिंहदरबारमा धर्ना दिन गएका नागरिक अभियान्ताहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा नागरिक अभियन्ता नारायण वाग्ले, खगेन्द्र संग्रौला, सञ्जीव उप्रेती, नारायण ढकाल, नवीन तिवारी, शशी विक्रम कार्की, विमल अर्याल, अर्चना थापा, प्रनेतालगायत १६ जना छन् । उनीहरूलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।
पक्राउ पर्नेमध्येका एकजना अभियान्त शशी विक्रम कार्कीले प्लेकार्डहरू निकाल्न नपाउँदै सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरिएको जानकारी दिए । उनले नेपाली पब्लिकसँग भने, ‘हामी धर्ना दिनका लागि जम्मा भएका थियौं । तर, धर्ना दिन नपाउँदै प्रहरीले हामीलाई पक्राउ गर्यो ।’
आन्दोलन चौथो साता चलिरहँदासमेत सरकारले वार्ताका लागि पहल नगरेको भन्दै नागरिक आन्दोलनका अभियान्ता दबाब स्वरूप सिंहदरबारमा धर्ना दिन पुगेका थिए ।
बृहत् नागरिक समाज पछिल्ला केही सातादेखि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध आन्दोलित छ ।