काठमाडौं – एमाले एकताबारे सुःखद् समाचार दिने भनिएको कार्यदलको बैठक बस्दैछ ।
आइतबार बिहान ८ बजे बस्ने भनिएको बैठक अझैं सुरु भएको छैन । पार्टी अध्यक्ष केपी ओली पक्ष बैठकका लागि सिंहदरवार पुगिसकेका छन् भने वरिष्ठ नेता माधव कुमार नेपाल पक्षीय कार्यदलका सदस्य नेपाल निवास कोटेश्वरमा छन् ।
आज कार्यदल सहमतिमा पुग्ने नेताहरुले बताएका छन् । बैठकमा कार्यदलले तयार पारेको ९ बुँदे मस्यौदामाथि सामान्य छलफलपछि कार्यदलका सबै सदस्यले हस्ताक्षर गरेर स्थायी कमिटी कमिटीमा पेश गर्ने तयारी छ ।
सिंहदरबारमा शनिवार बसेको कार्यदल बैठकपछि एमाले सचिव एवं कार्यदलका सदस्य गोकर्ण विष्टले आइतबार सकारात्मक सन्देश प्रवाह गर्ने जानकारी दिएका थिए । उनले सहमतिका लागि अन्तिम अन्तिम अवस्थामा आइपुगेको र औपचारिक दिने काम मात्र बाँकी रहेको बताएका थिए ।
त्यस्तै, ओली पक्षका कार्यदलका सदस्य सुबास नेम्बाङले विवादका सबै कुरा टुङ्ग्याएको र आइतबार बिहान सुखद् समाचार दिने बताएका थिए ।
गत जेठ २ गते गठन गरिएको कार्यदल बीचमा निष्क्रिय भएको थियो । असार २० गते एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल पक्षका नेता तथा उपाध्यक्ष भीम रावलबीच भेटवार्ता भएको भोलिपल्टदेखि नै कार्यदल पुनः सक्रिय भएको छ । कार्यदलको बैठक सोमबारदेखि लगातार बस्दै आएको छ ।
कार्यदलमा एमाले संस्थापन पक्षबाट संयोजक सुवास नेम्वाङसहित, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् भने नेपाल पक्षबाट नेताहरु संयोजक रावल, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।
कार्यदलमा सहमति लगत्तै बैठक बोलाउनका लागि अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गर्न महासचिव ईश्वर पोखरेल प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । एमालेको विधानमा अध्यक्षको परामर्शमा महासचिवले बैठक बोलाउने व्यवस्था छ ।