काठमाडौं – नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीले माओवादी केन्द्रमा विगत ३३ वर्षदेखि एउटै व्यक्ति नेतृत्वमा रहेको भन्दै प्रचण्डप्रति कडा आक्रोश पोखेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले माओवादी केन्द्र भन्ने पार्टी अवैधानिक भएको र यसलाई खारेज गर्नुपर्ने बताए । माओवादी केन्द्र खारेजीको लागि निर्वाचन आयोगमा आफूहरुले निवेदन दिएको र छिटो निर्णय गरिदिन ताकेदा पनि गरिरहेकोे रायमाझीको भनाई छ ।
‘३३ वर्षसम्म माओवादी पार्टीको महाधिवेशन भएको छैन । आधिकारिक रुपमा प्रतिष्पर्धात्मक महाधिवेशन नभएको तितो इतिहास हामीसँग छ । स्वघोषित नेता भएर प्रचण्डले इतिहास बनाएका छन्,’ उनले भने, ‘कुनै विधि, विधान, चिन्तन, कार्यशैलीमा ध्यान नभएपछि पार्टी तुहिँदै तुहिँदै गयो । माओवादी केन्द्र भन्ने पार्टी अवैधानिक छ । यसलाई खारेज गर्नुपर्छ । माओवादी केन्द्रले संविधान, कानून र राजनीतिक दलसम्बनधी ऐन केही पनि मानेको छैन ।’
आफूले बनाएको संविधान, कानून र ऐन नमान्ने अनि अराजकता र अस्थिरता सिर्जना गर्दै हिँड्ने काम प्रचण्डबाट भएको पनि उनको आरोप छ ।
उनले आफूले प्रधानमन्त्री नपाएको झोंकमा प्रचण्डले प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने हर्कत गरेको पनि गम्भीर आरोप लगाए ।
उनले वर्तमान प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भीजनरी, सफल र निर्णय गर्नसक्ने नेताको रुपमा चित्रण गरे । उनले भने, ‘अहिले नेपालमा भएका शीर्ष नेताहरुमध्ये केपी ओली सबैभन्दा निर्णय गर्नसक्ने एकमात्र सफल र भीजनरी नेता हो ।’
‘प्रचण्ड’ ले एमालेसँग एकता गर्दा क्रान्तिकारी हुने र आफूहरुले केपी ओलीलाई नेता मान्दा कसरी गैरक्रान्तिकारी हुन्छ ? भन्दै प्रश्न गरे ।
उनले नेताहरुको स्वार्थ, बनावटी र व्यक्तिगत लफडाको कारण तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेको दाबी गरे ।