काठमाडौं – नेकपा एमालको विवाद मिलाउन गठित कार्यदलको बैठक आज पनि बस्दैछ ।
विवाद समाधानका लागि कार्यदलमा सहमति पुगेको नेताहरूले दाबी गरेका छन् ।
बैठकले कार्यदलका भएको सहमतिलाई अन्तिम रुप दिने बताइएको छ । तर, कार्यदलका के–के सहमति भए भन्ने खुलाइएको छैन ।
कार्यदलको बैठकपछि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता हुने र दुई नेताबाट संयुक्त वक्तव्य जारी हुन सक्ने सम्भावना रहेको कार्यदलका एक सदस्यले बताए ।
कार्यदलकै पहलमा बुधबार साँझ एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालीबच होटेल मेरियटमा वार्ता भएको थियो । वार्ता निष्कर्षविहीन भएको थियो ।
गत जेठ २ गते गठन गरिएको कार्यदल बीचमा निष्क्रिय भएको थियो । असार २० गते एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल पक्षका नेता तथा उपाध्यक्ष भीम रावलबीच भेटवार्ता भएको भोलिपल्टदेखि नै कार्यदल पुनः सक्रिय भएको छ । कार्यदलको बैठक सोमबारदेखि लगातार बस्दै आएको छ ।
कार्यदलमा एमाले संस्थापन पक्षबाट संयोजक सुवास नेम्वाङसहित, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् भने नेपाल पक्षबाट नेताहरु संयोजक रावल, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।