पछिल्लो २४ घण्टामा देशभर थप दुई हजार २३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ३१३ जनाको पिसिआर र एन्टिजेन परीक्षणमा उक्त सङ्ख्यामा कोरोना पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा २० जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको छ। नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार ३४० पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर एक हजार ३१६ जना सङ्क्रमित निको भएका छन्। यससँगै नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या छ लाख १६ हजार ९२९ जना पुगेको छ। नेपालमा निको हुने प्रतिशत ९४ दशमलव ५ प्रतिशत रहेको छ।