काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले निर्वाचन आयोगमा परेको दल दर्ता खारेजीको निवेदनप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।
केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले शुक्रबार विज्ञप्ति जारी गर्दै त्यसप्रति माओवादी केन्द्रको ध्यानाकर्षण भएको भन्दै अवसरवादी र अनैतिक तत्त्वले पार्टीलाई बदनाम गराउन निवेदन दर्ता गराएको बताएका हुन् ।
विज्ञप्तिमा पार्टीसँग सरोकार नभएको व्यक्ति निवेदक रहेको र दल दर्ता खारेजी सम्बन्धी सामान्य कानुनी प्रक्रियाका बारेमा जानकारी नहुनेले त्यस्तो हरकत गर्नु हास्यास्पद भएको उल्लेख छ ।
एमालेमा रहेका माओवादीका नेताहरूले अधिवक्तामार्फत् बुधबार आयोगमा माओवादी केन्द्रको दल दर्ता खारेजीका लागि निवेदन दर्ता गराएका थिए । उनीहरूले आज आयोगमै पुगेर आयोगलाई त्यसबारेमा छिटो निर्णय लिन आग्रह गरेका छन् ।
