काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए), अमेरिकाको हालै न्यूयोर्कमा सम्पन्न साधारण सभामा नयाँ नेतृत्वलाई कार्यभार हस्तान्तरण गरिएको छ ।
एनआरएनएको अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक त्रिपाठीले संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को अमेरिकाज क्षेत्रको संयोजकको हैसियतले अमेरिकाको नेतृत्व सम्हाल्ने निर्वाचित कार्यसमितिलाई हार्दिक बधाइ ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गरेका छन् ।
उनले लोकतान्त्रिक अभ्यासका क्रममा भएका त्रुटिलाई कमजोरीका रुपमा स्वीकार गर्दै समुदायको बृहत्तर हितलाई अघि बढाउनुको बिकल्प नरहेको उनले बताएका छन् ।
न्यूयोर्कको साधारणसभाका क्रममा मञ्चमा देखिएको केही क्षणको असहजताले आगामी दिनका लागि ठूलो पाठ सिकाएको विज्ञप्तिमा उनले उल्लेख गरेका छन् ।
‘नेपाली समुदायको सेवा नै एनएरएनएको मूल उद्देश्य हो । हामी आफैंले छानेका हाम्रा प्रतिनिधिहरुबाट हाम्रा साझा समस्याहरुको समाधान हुनुपर्छ भन्ने गैरआवासीय नेपाली समुदायको धारणाप्रति उच्च सम्मान व्यक्त गर्दै नयां कार्यसमितिले आफ्नो कार्यकाल अघि बढाउने छ भन्ने मेरो विश्वास छ’ विज्ञप्तिमा उनले भनेका छन् ।
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यो कार्यमा अमेरिकाज क्षेत्रको क्षेत्रीय संयोजकका हैसियतले मेरो सम्पूर्ण सहयोग रहने छ । समस्याहरु आउंछन् तर तिनलाई निस्वार्थरुपले समाधान गरियो भने आगामी दिनहरु सौहार्दपूर्ण बनाउन सकिन्छ भन्ने कुरालाई आत्मसात गर्दै अघि बढौं, एकतामा नै शक्ति छ । धन्यवाद । जय एनआरएन ।’