एकता निष्कर्षमा पुर्याउने भन्दै एमाले कार्यदलको बैठक ७ बजेसम्मका लागि स्थगित भएको छ ।
विवाद समाधानका लागि दुबै पक्ष छलफलमा जुटेका छन् । नेकपा एमाले अध्यक्ष केपी ओली पक्ष बालुवाटारमा र वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष सिंहदरवारमा छलफलमा जुटेका छन् ।
आज साँझ बस्ने बैठकले एमाले विवाद टुंगोमा पुर्याउने कार्यदलका सदस्यहरूको दाबी छ । विवाद रहेका सबै विषयमा सहमति भइसकेको र त्यसलाई आज टुंगोमा पुर्याउने तयारीमा कार्यदल छ ।
नेकपा (एमाले)को विवाद समाधान गर्न गठित कार्यदलका सदस्य तथा नेपाल पक्षीय नेता गोकर्ण विष्टले विवाद समाधानोन्मुख रहेको बताए । विष्टले छलफलमा हिजोभन्दा थप प्रगति भएको बताए ।
कार्यदलमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका तर्फबाट संयोजकसमेत रहेका नेता सुवास नेम्वाङले छलफल सकारात्मक रहेको प्रतिक्रिया दिए । उनले भने, ’कार्यदलको अहिलेको बैठक सात बजेसम्म स्थगित गरिएको छ । सकभर आज निष्कर्षमा पुर्याउने तयारी छ ।’
कार्यदलका एक संयोजक भीम रावलले आज बिहान वरिष्ठ नेता नेपाल र ओली समूहका नेता विष्णु पौडेलसँग छलफल गरेका थिए । सहमति भएका विषयमा छलफल गर्न बुधवार राति ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता भएको थियो ।
गत जेठ २ गते गठन गरिएको कार्यदल बीचमा निष्क्रिय भएको थियो । असार २० गते ओली र वरिष्ठ नेता नेपाल पक्षका नेता रावलबीच भेटवार्ता भएको भोलिपल्टदेखि नै कार्यदल पुनः सक्रिय भएको छ । कार्यदलको बैठक सोमबारदेखि लगातार बस्दै आइरहेको छ ।
कार्यदलमा एमाले संस्थापन पक्षबाट संयोजक नेम्वाङसहित, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् भने नेपाल पक्षबाट नेताहरु संयोजक रावल, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।