नेकपा एमालेको विवाद समाधान गर्न गठन गरिएको कार्यदलको बैठक सुरू भएको छ । बैठक बिहीवार बिहान ११ बजे भनिए पनि सवा १२ बजेपछि मात्रै सिंहदरवारमा सुरू भएको हो ।
कार्यदलका एक संयाजक भीम रावल वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न कोटेश्वर गएपछि बैठकमा ढिलाई भएको हो । त्यसअघि ओली समूहका नेता विष्णु पौडेल र रावलबीच वार्ता भएको थियो ।
आजको बैठकले एमाले विवाद टुंगोमा पुर्याउने कार्यदलका सदस्यहरूको दाबी छ । विवाद रहेका सबै विषयमा सहमति भइसकेको र त्यसलाई आज टुंगोमा पुर्याउने तयारीमा कार्यदल छ ।
सहमति भएका विषयमा छलफल गर्न बुधवार राति एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता भएको थियो ।
गत जेठ २ गते गठन गरिएको कार्यदल बीचमा निष्क्रिय भएको थियो । असार २० गते ओली र वरिष्ठ नेता नेपाल पक्षका नेता रावलबीच भेटवार्ता भएको भोलिपल्टदेखि नै कार्यदल पुनः सक्रिय भएको छ । कार्यदलको बैठक सोमबादेखि लगातार बस्दै आइरहेको छ ।
कार्यदलमा एमाले संस्थापन पक्षबाट संयोजक सुवास नेम्वाङसहित, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् भने नेपाल पक्षबाट नेताहरु संयोजक रावल, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।