यूरो कप फुटबल २०२० को पहिलो सेमिफाइनल खेलमा इटालीले स्पेनको सामना गर्दैछ । दुई राष्ट्रबीचको विजेताले उपाधिका लागि इंग्ल्याण्ड र डेनमार्कबीचको विजेतासँग स्पर्धा गर्नेछ ।
इंग्ल्याण्डको वेम्ब्ली रङशालामा दुई टोलिले आज अबेर राति फाइनलमा स्थान सुनिश्चित गर्न स्पर्धा गर्नेछन् । दुबै टोलिले यूरोपियन च्याम्पियनशीपको नक आउट चरणमा एक अर्का बिरुद्ध खेल्न लागेको यो चौथो अबसर हो ।
यूरोपियन च्याम्पियनशीपमा समग्रमा भने दुबै टोलिले हालसम्म सात पटक एक अर्काबिरुद्ध खेलेको छ । जसमध्ये स्पनेले सन् २०१२ को फाइनलमा मात्र एक पटक इटालीलाई हराएर उपाधि जित्न सकेको छ ।
इटालीले भने सन् २०१६ को यूरो कपको अन्तिम १६ मा स्पेनलाई हराएको थियो । स्पेनले भने चार अबसरमध्ये तेस्रो पटक यूरो कपको उपाधि जित्ने खोजमा रहेको छ । इटाली भने हालसम्म एक पटक मात्रै यूरो कप फटबल जित्न सकेको छ ।
सन् १९६८ मा पहिलो र एकपटक मात्रै इटालीले यूरो कप उचालेको छ । तर पछिल्लो तीन वर्षमा बिरलै कुनै खेल हारेको इटाली यूरो कप फुटबल २०२० दाबेदार हो ।
इटालीले समूह चरणको तीन वटै खेल जितेर अन्तिम १६ को यात्रा तय गरेको छ । उसले अष्ट्रियालाई अतिरिक्त समयमा र विश्व वरीताको शीर्ष स्थानमा रहेको बेल्जियमलाई २–१ ले हराएर सेमीफाइनलसम्म पुगेको छ । तर इटाली आफ्नो सबैभन्दा उत्कृष्ट खेलाडी बिना नै स्पेन बिरुद्ध उत्रिनेछ । क्वार्टरफाइनलमा बेल्जियम बिरुद्धको खेलमा लियोनार्दो स्पिनाजोला घाइते हुन पुग्दा उनी स्पेन बिरुद्ध उपलब्ध हुनेछैनन् ।