प्रधानमन्त्री केपी शर्मा ओलीले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन् ।
प्रधानमन्त्री ओलीले राजविराज नगरपालिका–१० बिरौलमा स्थापना गरिएको प्रतिष्ठानको आज शिलान्यास गरेका हुन् । प्रतिष्ठानको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सप्तरीमा सर्वाधिक ठूलो परियोजनाको स्थापनाले उच्चस्तरीस्य शिक्षा र स्वास्थ्य प्राप्त गर्ने स्थानको रूपमा विकास हुने बताए ।
प्रतिष्ठानको स्थापनासँगै स्तरीय शिक्षा र स्वास्थ्यको अवसरले आर्थिक गतिविधि तीव्र हुनुका साथै पर्यटकीय गन्तव्य बन्ने उनले बताए । मुलुकमा रहेका अनेकौँ प्रकारका विविधतालाई सम्पत्ति र सम्पन्नताको रूपमा लिँदै सबै मिलेर गरिबी, पछौटेपन हटाउनुपर्ने तथा विकासका काममा एकजुट हुनुपर्ने प्रम ओलीले बताए ।
तोकिएको समयमा र गुणस्तरीयरूपमा प्रतिष्ठानको काम सक्न स्थानीय तह, जनप्रतिनिधि र जनसमुदायसँग प्रम ओलीले सहयोगको अपेक्षा गरे । प्रधानमन्त्री ओलीले प्रदेश नं २ का लागि सुनकोशी मरिन डाइभर्सन र पूर्वी क्षेत्रका लागि सुनकोशी कमला डाइभर्सन निर्माण गरी सिँचाइ सुविधा पुर्याउने र बिजुली उत्पादन गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताए ।
‘एक प्रदेश एक प्रतिष्ठान’ निर्माण गर्ने लक्ष्यअनुसार सप्तरीमा प्रतिष्ठानको शिलान्यास गरिएको बताउँदै प्रम ओलीले प्रतिष्ठान स्थापनाले प्रदेश नं २ र छिमेकी जिल्लाका साथै भारतीय नागरिक स्वास्थ्य सेवा प्राप्त गरी लाभान्वित हुने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले प्रतिष्ठानको स्थापनाले देखिने र लाभ हुने गरी शिक्षा, स्वास्थ्यका क्षेत्रमा नयाँ उचाइ कायम हुने विश्वास दिलाए ।
प्रतिष्ठानले रोजगारीको अवसर सिर्जना गर्नुको साथै आर्थिक क्रियाकलाप पनि बढ्ने र यसले प्रविधिको विकाससँगै विकासप्रति विश्वास बढाउने ओलीले बताए ।
मन्त्रिपरिषद्को विसं २०७५ पुस १६ गतेको निर्णयले राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो । जग्गा विवाद समाधान भई जेठ ३१ गते ६१ बिघा छ कट्टा जग्गा प्राप्त भएपछि शिलान्यासको कार्यक्रम अघि बढेको हो । कूल रु ११ अर्ब ९८ करोडको लागतमा निर्माण हुने प्रतिष्ठानको काम पाँच वर्षभित्र सम्पन्न हुने प्रतिष्ठान पूर्वाधार विकास तयारी समितिका अध्यक्ष डा रोहित पोखरेलले जानकारी दिए ।