पछिल्लो २४ घण्टामा थप २६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,५०३ जनाको पीसीआर परीक्षणमा १,७१८ र ५,०८२ जनाको एन्टिजेन परीक्षणमा ९१६ जना गरी २,६३४ जनामा संक्रमण पुष्टि भएको हो । कुल परीक्षणको २१ प्रतिशतमा सङ्क्रमण देखिएको हो ।
योसँगै कुल कोरोना संक्रमितको संख्या ६ लाख ४८ हजार ८५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा लगातार दोस्रो दिन निको हुनेको संख्याभन्दा नयाँ संक्रमितको संख्या बढी देखिएको हो । लामो समय निको हुनेको संख्या बढी हुँदै आएकोमा सोमबारबाट भने नयाँ संक्रमितको संख्याले निको हुनेको संख्यालाई उछिन्न थालेको छ ।
मंगलबार पुष्टि भएका कुल सङ्क्रमितमध्ये ४९९ जना काठमाडौं उपत्यकामा रहेका छन् । त्यसमध्ये काठमाडौंका ३६५, ललितपुर र भक्तपुरका क्रमशः १०५ र २९ जना रहेका छन् । सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाडौं उपत्यकाका धेरै भएको तथ्याङ्कले देखाउँछ ।
पछिल्लो २४ घण्टामा १५६५ जना निको भएका छन् । निको भएका सङ्क्रमित ९४।६ प्रतिशत पुगेका छन् ।
हाल सक्रिय संक्रमित संख्या २५ हजार ८२५ छ । अहिले देशभरिका आठ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने थप २४ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् ।
मंगलबार कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार २६३ पुगेको छ ।
हाल २२ हजार ९६९ जना होमआइसोलेसनमा रहेका छन् भने २ हजार ५९ जना संस्थागत आइसोलेसन, आईसीयूमा ५६७ जना र भेन्टिलेटरमा १७१ जना रहेका छन् ।