नेकपा एमाले विवाद समाधानका लागि बसेको कार्यदलको बैठक सकिएको छ ।
बैठकमा महत्वपूर्ण छलफल भएको र सबै सदस्यले कसरी टुङ्गोमा पुग्ने विषयमा सुझाव दिएको कार्यदलका सदस्य गोकर्ण विष्टले जानकारी दिए ।
बैठकपछि उनले भने, ‘हिजोभन्दा आज प्रगति भयो । आज बुँदागत रुपमा छलफल भएको छ । सहमतिमा पुग्ने आधार तय भएको छ ।’
आजको बैठकमा पार्टी एकताको सन्देश दिनेगरि अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालले जारी संयुक्त वक्तव्य जारी गर्ने बताइएको थियो । तर, बैठकमा उक्त विषयले प्रवेश नै नपाएको कार्यदलका अर्का सदस्य रघुजी पन्तले बताए ।
गत जेठ २ गते गठन गरिएको कार्यदल बीचमा निष्क्रिय भएको थियो । असार २० गते ओली र नेपाल पक्षका नेता भीम रावलबीच भेटवार्ता भएको भोलिपल्टदेखि नै कार्यदल पुनः सक्रिय भएको छ । कार्यदलको बैठक हिजो पनि बसेको थियो ।
कार्यदलमा एमाले संस्थापन पक्षबाट नेम्वाङसहित, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् भने नेपाल पक्षबाट नेताहरु संयोजक रावल, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।
बैठक फेरि बुधबार बस्नेछ ।