आगामी साउन १ गतेबाट अवैध रूपमा विदेशबाट आयात गरिएको मोबाइल फोन नेपालमा नचल्ने भएकाे छ। सरकारले साे दिन देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याउने तयारी गरेकाे हाे।
योसँगै अब नेपालमा अवैध मोबाइलमाथि प्रतिबन्ध लागाइने भएकाे हुँदा हाल नेपालमा प्रयोगमा रहेका मोबाइल फोनहरूलाई पनि अनिवार्य दर्ता गर्न सर्वसाधारणहरूलाई नेपाल दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ। प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रका अनुसार मोबाइल फोन दर्ता गर्दा राज्यले प्राप्त गर्ने राजश्व वृद्धि हुनेछ र मोबाइल फोन सुरक्षित हुनेछ। साथै याे सिस्टम कार्यान्वयन भएपछि हराएका तथा चोरी भएका मोबाइल आईएमईआई नम्बरका आधारमा फेला पर्न सहयाेग पुग्ने प्राधिकरणकाे विश्वास छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको बजेट वक्तव्यमा पनि एमडीएमएसबाट अवैध मोबाइल सेट प्रयोग नियन्त्रणमा आउने र मोबाइल प्रयोग गरी हुने आपराधिक गतिविधि समेत नियन्त्रण हुने विश्वास लिएको उल्लेख गरिएको थियो।
साउन १ सम्म मोबाइल दर्ता नगर्दा सेवा बन्द हुन्छ?
प्राधिकरणका सहायक प्रवक्ता मिश्रका अनुसार चलिरहेको मोबाइल फोन असार महिनापछि पनि चल्ने छ तर नयाँ आउने मोबाइल फोनको हकमा भने दर्ता भएपछि मात्रै चल्नेछ। ''बाँकी जसको दर्ता भएको छैन एसएमएस र इमेल मार्फत सूचना दिएर सबैलाई यो प्रक्रियामा ल्याउँछौँ। चलिरहेको मोबाइललाई रोक्दैनौँ,'' उनले भने।
मोबाइल फोन कसरी दर्ता गर्न सकिन्छ त?
विभिन्न देशमा कार्यरत नेपाली श्रमिकहरूले आफ्ना परिवार सदस्य र साथीभाइलाई मोबाइल फोन ल्याइदिने वा पठाइदिने गरेका छन्। त्यसबाहेक अन्य प्रयोजनका लागि विदेश जानेहरूले खरिद गर्ने सामाग्रीमा मोबाइल फोन पनि पर्ने जानकारहरू बताउँछन्।
मोबाइल फोन व्यवसायीहरूले आयात गरेको फोन उनीहरूले नै दर्ता गरिदिने भएकाले सर्वसाधारणहरूले त्यो प्रक्रिया पूरा गर्नु नपर्ने अधिकारीहरू बताउँछन्। तर विदेशबाट आफूले ल्याएका मोबाइल फोन भने प्रयोगकर्ता स्वयंले दर्ता गर्नुपर्ने हुन्छ।
प्राधिकरणका अनुसार मोबाइल प्रयोगकर्ताहरूले (nta.gov.np) वेबसाइटमा गएर आफूले प्रयोग गरिरहेको मोबाइल फोन दर्ता गर्न सक्छन्। वेबसाइटमा उपलब्ध फारममा आफूले प्रयोग गरिरहेको मोबाइलबाट *#06# थिचेपछि प्राप्त हुने आईएमईआई नम्बर उल्लेख गर्नुपर्ने हुन्छ। त्यसबाहेक त्यहाँ नागरिकता वा राहदानी नम्बरसहित विभिन्न किसिमका व्यक्तिगत विवरणको माग गरिएको हुन्छ।