जनता समाजवादी पार्टी (जसपा) फुट नजिक पुगेको छ ।
मंगलबार विवाद समाधानका लागि निर्वाचन आयोग पुगेका जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच कुनै सहमति हुन नसकेपछि दुबै पक्ष फर्किएका छन् ।
दुबै पक्षले आयोगलाई अब प्रक्रियाअनुसार अघि बढ्न भनेका छन् । आफूहरु नमिल्ने भन्दै आयोगलाई नियमानुसार अघि बढ्न दिन उनीहरुले सहमति जनाएका छन् ।
छलफलमा सहभागी नेता अनिल झाले मिलेर जानेबारे केहीबेर छलफल गरे पनि त्यो सम्भावना नदेखिएकोले अलग हुन हस्ताक्षर गरिएको बताए ।
अब दुबै पक्षले आधिकारिकताका लागि दावी पेश गर्ने सहमति भएको छ । आयोगले जसपा विवाद समाधानका लागि बुधबार इजलास गठन गर्ने र दुबै पक्षले दल दर्तासम्बन्धी ऐन बमोजिम दावी पेश गर्ने सहमति जुटेको आयोग स्रोतको भनाइ छ । योसँगै जसपा फुट नजिक पुगेको छ ।
पार्टीमा विवाद बढेपछि दुवै पक्षले एक अर्को पक्षलाई कारवाही गर्दै आफू नै आधिकारिक भएको दावीसहित आयोगमा निवेदन दिएका थिए । आयोगले विवाद समाधानका लागि दुवै पक्षलाई छलफलमा बोलाएपछि ठाकुर र यादव पक्ष आयोग पुगेका थिए ।