नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले असार २८ गते आउने सर्वोच्च अदालतको परमादेशले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने विश्वास व्यक्त गरेका छन् ।
मंगलबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले संसद् पुनर्स्थापनाको विकल्प नरहेको बताए । संसद पुनर्स्थापना नहुनुको अर्थ संविधान, लोकतन्त्र र जनताको भावना विपरित जे गरे पनि हुन्छ भन्ने नजिर स्थापना हुने र त्यसको कल्पनासमेत गर्न नसकिने प्रचण्डले बताए ।
प्रचण्डले अगाडि भने, ‘अहिले त सरकारले बढी संविधान मिच्ने, लोकतान्त्रिक मुल्य र मान्यतालाई कुल्चिने काम गरेको छ त्यसैले यस्तो अवस्थामा संसद पुनर्स्थापना मात्रै होइन कि मलाई विश्वास छ १४९ सदस्यको हस्ताक्षरसहित राष्ट्रपति कहाँ बुझाएको आधारपत्र र १ सय ४६ को हस्ताक्षरसहित सर्वोच्च रिट प्रतिवेदनका आधारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुन्छ ।’
प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालतलाई दवाब दिन खोजेको आरोप समेत लगाए । अदालतलाई दवाव दिएर ओली थप निरंकुश बन्न खोजेको उनले आरोप लगाए ।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ । पक्ष, विपक्ष र एमिकस क्युरीको बहस सकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर अर्को पेशी असार २८ गतेका लागि तोकिएको छ ।